विदेश पठाउने भन्दै ४२ लाख बढी ठगी गर्नेहरु पक्राउ


नेपाल समाचारपत्र, काठमाडौं ।
उत्तर कोरियाको एक कृषि फर्ममा जागिर लगाइदिने भन्दै ठगी कार्यमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ परेका छन् । उनिहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सिन्धुलीका दिनेश भनिने रामबहादुर थापा, मकवानपुरको दिनेश श्रेष्ठ र कल्पना ढुंगाना रहेका छन् ।

उनीहरुले उत्तर कोरिया जान प्रतिव्यक्ति ७ लाख लाग्ने भन्दै झुक्याएर रकम लिएर ठगी गरेको खुलेको छ ।
उनीहरुले हालसम्म ५ जनाबाट ४२ लाख रुपैयाँभन्दा बढी रकम लिएर ठगी गरेको ब्यूरोमा उजुरी परेको छ ।
पक्राउ परेकाहरुमाथि जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गरेर ठगी मुद्दामा अनुसन्धान भइरहेको छ ।

यस्तै मकाउमा जागिर लगाइदिने भन्दै ठगी गर्ने १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी धरानका बालकृष्ण भण्डारी रहेका छन् ।
उनले त्यसरी मकाउ पठाइदिन्छु भनेर २३ जनाबाट २ लाख ७५ हजार रुपैयाँ उठाएको जनाइएको छ ।