मध्यपुरथिमिः स्थानीय सरकारको प्रतीक चिह्नसहित बजेट सार्वजनिक


भक्तपुर ।
मध्यपुरथिमि नगरपालिकाले आजदेखि स्थानीय सरकार लेखेको लेटरप्याडसहित नयाँ लोगो सार्वजनिक गरेको छ ।

नगरपालिकाले कामकाजका रुपमा प्रयोगमा ल्याएर लेटरप्याडमा स्थानीय सरकार लेखेको र लोगोसमेत नयाँ प्रयोगमा ल्याएर त्यसलाई सार्वजनिक गरेको हो ।

कार्यक्रममा नगरपालिकाले आर्थिक वर्ष २०७५÷७६ का लागि कूल रु एक अर्ब १८ करोडको बजेट सार्वजनिक गरेको छ । आव २०७४÷७५ मा रु ४४ करोड एक लाख ११ हजार बजेट निर्माण गरेको नगरपालिकाले चालु आवका लागि ६३ प्रतिशतले वृद्धि गरी ल्याएको बजेट सार्वजनिक गरेको हो ।

नगरपालिकाका प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष राम थापामगरले सार्वजनिक गर्नु भएको बजेटमा चालुतर्फ रु १४ करोड ८७ लाख ७० हजार, सामाजिक सुरक्षातर्फ रु आठ करोड, विषयगत शाखातर्फ रु १५ करोड पाँच लाखको बजेट विनियोजन गरेको छ । पूँजीगततर्फ रु ८० करोड सात लाख ३० हजार रकम विनियोजन गरेको छ ।

आव २०७४÷७५ मा लागि नगरपालिकाले कूल रु ७३ करोड ९८ लाख ८९ हजार बजेट विनियोजन गरेकामा २०७५ असार २२ गतेसम्म चालुतर्फ रु १३ करोड ५९ लाख ५७ हजार २११ अर्थात् ७७ प्रतिशत र पूँजीगततर्फ रु ३० करोड ४१ लाख १३ हजार १९५ अर्थात् ५४ प्रतिशत खर्च भएको सो अवसरमा जानकारी दिइयो ।

नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले विगतमा लगाउँदै आएको विभिन्न करलाई कम गर्दै जनतालाई थप भार नपर्ने गरी कर निर्धारण गरेको बताउनुभयो ।

नगरपालिकाले चालु आवको बजेटमा स्वास्थ्य, सरसफाइ तथा खानेपानी, ढल निकास, शिक्षा, खेलकूद र कला संस्कृति, भौतिक पूर्वाधार विकास, लक्षित समुदाय तथा वर्गका लागि प्रवद्र्धनात्मक कार्यक्रम, सार्वजनिक क्षेत्रको संरक्षण र पुनःनिर्माण, प्रशासनिक पुनःसंरचना र क्षमता विकास, नगर क्षेत्रका जग्गा एकीकरण आयोजना व्यवस्थापन र मध्यपुर उज्यालोलाई प्राथमिकता दिएको बताउनुभयो ।
रासस