यातना दिएको भन्दै प्रहरी बिरुद्ध उजुरी


रामधन राई, खोटाङ ।
खोटाङमा फरार आरोपितका बिषयलाई लिएर प्रहरीले आफुहरुलाई यातना दिएको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका बुद्धिराज राई र समृत राईले मानव अधिकार आयोगमा प्रहरी बिरुद्ध उजुरी दिएका छन् । कुटपिट, लुट र जबरजस्ती करणी गरेको आरोपमा निसान राई फरार भएपछि आफुहरुलाई पक्राउ गरेर प्रहरीले यातना दिएको भन्दै बाबु बुद्धिराज र दाजु समृतले आईतबार राष्ट्रिय मानव अधिकार आयोगको उपक्षेत्रीय कार्यालय दिक्तेलमा उजुरी दिनुभएको हो ।

फरार आरोपित निसानलाई पक्राउ गर्नका लागि प्रहरीले आफुहरुलाई साउन ११ गते राती गाउँबाट पक्राउ गरेर हत्कडी लगाएर सोही राती शारीरिक यातना दिएकाले आयोगमा उजुरी दिएको बुद्धिराजले बताउनुभयो ।
शनिबार जिल्ला प्रहरी कार्यालयमा ल्याइएका राईद्वयलाई तारिखमा छाडेको प्रहरीले जनाएको छ ।