अबैध बालुवा चोरीमा संलग्न ट्याक्टर र ट्रिपर पक्राउ


नेपाल समाचारपत्र, पर्वत ।
कालीगण्डकी नदिमा एक्साभेटर प्रयोग गरेर बालुवा चोरी निकासी गरेको भन्दै प्रहरीले ६ वटा ट्याक्टर र एक वटा ट्रिपर नियन्त्रणमा लिएको छ ।
कालीगण्डकीबाट बालुवा चोरीका लागि नदिमा उत्खनन गर्दै गरेको अवस्थामा कुस्मा नगरपालिका वडा न.ं १ राजाको बगरमा ट्याक्टर र ट्रिपर नियन्त्रणमा लिएको हो ।
कालिगण्डकी नदीको किनारवाट विल भरपाई नभई अवैध रुपमा लुकिछिप नदीजन्य पदार्थ वालुवा उत्खनन गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्वतवाट खटिएको प्रहरी गस्ति टोलीले फेला पारेर नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएका सवारी साधनमा ध १ त ३०४, ध १ त ५१०९ , ग १ त , ध १ त ३६३, ध १ त ३६६ र ग १ त ४८६४ नम्बरका ६ वटा ट्याक्टर तथा ग १ ख ३५८४ नम्बरकोे ट्रिपर नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएका ट्याक्टर र ट्रिपरलाई आवश्यक कारवाहीको लागि कुश्मा नगरपालिकामा पठाइएको प्रहरीले जनाएको छ ।

कालीगण्डकी नदीको पर्वतको कुस्मा देखि म्याग्दीको सदरमुकाम बेनी बजार सम्म बिभिन्न स्थानमा जथाभावी रुपमा एक्साभेटर जस्ता ठुला उपकरणहरु प्रयोग गरेर बालुवा चोरी भैरहेको छ । नदीमा एक्साभेटर प्रयोग गर्न कानुनी रुपमा बन्देज भएपनि कुस्मा नगरपालिका र जलजला गाउँपालिकाको क्षेत्रमा दिनहुँ दर्जनौ एक्साभेटर प्रयोग गरि बिभिन्न ठाउँबाट बालुवा निकाल्ने काम भैरहेको छ । जथाभावी रुपमा बालुवा निकाल्दा नजिकका बस्ती समेत जोखिममा परेको भन्दै स्थानियबासीले जनप्रतिनिधी र स्थानिय प्रशासन संग यसलाई रोक्न माग गरेका छन । तर जनप्रतिनिधीहरु नै जथाभावी बालुवा निकाल्ने काममा संलग्न भएका कारण कतै सुनुवाई नभएको जलजला गाउँपालिका ८ का सोमबहादुर जिसीले बताए । गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) आफै क्रसर ब्यबसायी हुन भने उनले अन्य क्रसर ब्यबसायी र निर्माण ब्यबसायीलाई एक्साभेटर प्रयोग गर्न लिखित अनुमति दिएका छन ।

उच्च अदालत पोखराको बागलुङ ईजलासले केही दिनअघि बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ स्थित प्रशासन कार्यालय र स्थानीय तहलाई कानुन विपरीत हेभी ईक्युभमेन्ट प्रयोग गरेर नदीजन्य बस्तुको दोहन गर्ने कार्य रोक्न आदेश गरेको थियो । तर जलजला गाउँपालिकाको बगरफाँट, लामाखेत, मिलनचोक, लस्ती, नाग्लीवाङ स्थित कालीगण्डकी नदि किनारमा केही जनप्रतिनिधि, कर्मचारी, प्रहरी र प्रशासनको मिलेमतोमा नदिजन्य वस्तुको अबैध दोहन तथा चोरी निकासी भैरहेको स्थानीयबासीले गुनासो गरेका छन् । जलजला गाउँपालिकाको कार्यबाहक अध्यक्ष समेत रहनुभएका वडा न. ४ का अध्यक्ष भिष्म मल्लले एक्साभेटर प्रयोग गरेर नदीबाट बालुवा निकाल्ने विषयमा गाउँपालिकाले निर्णय नगरेको, अनुमती नदिएको र अबैध कार्य रोक्न प्रहरीले असहयोग गरेको प्रतिक्रिया दिनुभयो ।