किरियापुत्री भवन सफाइका लागि निगमको सहयोग


काठमाडौँ ।
पशुपति क्षेत्रस्थित किरियापुत्री भवन परिसरको सफाइका लागि नेपाल आयल निगमले ‘हुपर टिपर’ सहित आठ जना कर्मचारी उपलब्ध गराएको छ ।

पशुपति परिसरमा आज आयोजित कार्यक्रममा निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले ‘हुपर टिपर’ सहित दुई चालक र छ जना सफाइ कर्मचारीका लागि आवश्यक तलब उपलब्ध गराउनुभएको हो ।

कोषका सदस्य–सचिव डा प्रदीप ढकाललाई सामग्री दिनुहुँदै निमित्त कार्यकारी निर्देशक भट्टराईले पशुपति क्षेत्रको सफाइका लागि सहयोग गरिएको बताउनुभयो ।

कार्यक्रममा कोषका सदस्य–सचिव डा ढकालले दैनिक हजारौँ भक्तजन आउने मन्दिर क्षेत्रमा भौतिक सफाइ पहिलो आवश्यकता रहेको बताउनुभयो । भौतिक सफाइसँगै आध्यात्मिक सफाइलाई पनि जोड दिइने उहाँको प्रतिबद्धता थियो ।

कोषका कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले पशुपति क्षेत्रको सफाइका लागि यसअघि फोहरमैला प्राविधिक सहयोग केन्द्रलगायतसँग सहकार्य गरिएको स्मरण गर्नुभयो ।

पशुपति क्षेत्रलाई स्वच्छ र सफा राख्न सहयोग गर्न इच्छुक सबै संघसंस्थासँग सहकार्य गरिने सो अवसरमा जानकारी गराइयो ।
रासस