उपभोक्ता समितिको अध्यक्षमा पुन त्वाती निर्वाचित


नेपाल समाचारपत्र, भक्तपुर ।
पाण्डोबजार खानेपानी योजना जल उपभोक्ता समितिको प्रथम अधिवेशनले राजनकाजी त्वातीको अध्यक्षमा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सूर्यविनायकमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा कान्छा सुवाल, सचिवमा कृष्णराम ध्वजू, सहसचिवमा हरि भट्टराई, कोषाध्यक्षमा रामसुन्दर सुवाल, सदस्यहरुमा शशीकदा दोङ्ग लामा, सानुकेशरी त्वाती, हरिकृष्ण श्रेष्ठ, राजेन्द्र त्वाती, सत्यनारायण ध्वजू र पूण्यराम ध्वजू चयन भएका छन् ।

यसअघि भएको अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका जिल्ला अध्यक्ष दूर्लभ थापाले प्रतिनिधीसभा सदस्य देखि प्रदेशसभा सदस्यसम्म र स्थानीय तहका पदाधिकारी समेतले आफूलाई कसरी तलब, भत्ता, सेवा, सुविधा बढाउँन सकिन्छ भनेर मात्रै सोच्ने गरेको आरोप लगाए । जनताको भावना विपरित जनप्रतिनिधीले काम गर्न नसकेको टिप्पणी गर्दै उनले नेताहरुले चुनावमा बोलेका कुरा पुरा गर्ने भन्दा पनि आफ्नो दुनो मात्रै सोझ्याउने काममा तल्लिन भएको आरोप लगाए ।

कार्यक्रममा पूर्व सभासद रामेश्वर ढुङ्गेलले कामहरु अधूरो राख्ने र जनताको भावना अनुरुप नहुने गरेको चर्चा गर्दै मेलम्ची खानेपानी यसको उदाहरण भएको बताए । त्यसअवसरमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय भक्तपुरका प्रमुख शर्बेन्द्र झाले पाण्डो बजार खानेपानी समिति केन्द्रीय बजेटमा परेको बताउँदै यसले खानेपानी विस्तार तिब्र पार्न सक्ने बताए ।

कार्यक्रममा समितिका अध्यक्ष राजनकाजी त्वातीले समितिले चारवटा डिप बोरिङ्ग गरेर करिब ८५० घरधुरीलाई धारा वितरण भईसकेको बताउँदै पानी संकलनका लागि १२ लाख लिटर क्षमताको ५ वटा ट्याङ्गी निर्माण सम्पन्न गरेको र थप ३ लाख लिटरको ट्याङ्गी निर्माण गर्ने तयारीमा रहेको बताए । समितिले ९ करोड ५५ लाखको योजना स्वीकृत गरेको बताउँदै उनले समितिको कोषमा १ करोड ७ लाख मौज्दात रहेको बताए ।

कार्यक्रममा समितिको संस्थापक सदस्यका तर्फबाट निशान ढुङ्गेल, वडा समूहको तर्फबाट शशीकला दोङ्ग लामा, उपभोक्ताका तर्फबाट सत्यनारायण ध्वजू, सिपाडोल खानेपानी जल उपभोक्ता समितिको तर्फबाट बोध बहादुर थापा, आयोजनाका कोषाध्यक्ष रामसुन्दर सुवाल, समितिका कार्यालय प्रमुख राजेन्द्र तमखु लगायतले खानेपानीको अभाव हुन नदिन आयोजनाले महत्वपूर्ण निर्वाह गर्नुपर्नेमा जोड दिए ।