अधिकांंश जार तथा बोटलको पानी पिउन अयोग्य, कारबाही गर्ने निकाय भने मौन

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं
उपत्यकालगायत शहरी क्षेत्रमा उच्च प्रयोग हुने अधिकांश जार तथा बोटलको पानी पिउन अयोग्य रहेको एक अनुसन्धानले देखाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले गरेको अनुसन्धानमा जार तथा बोतलमा ‘मिनिरल वाटर’ भन्दै बेचिने पानीमा प्रदूषित किटाणु तथा अखाद्य वस्तु पाइएको हुँदा पिउनयोग्य नभएको पत्ता लागेको हो ।

नास्टले ५० वटा विभिन्न ब्रान्डका पानीका जारको नमुना परीक्षण गर्दा ९२ प्रतिशतमा हानिकारक कोलिफर्म र ७४ प्रतिशत इकोलाई नामक जीवाणु रहेको पाइएको थियो । ती कम्पनीको पानी दूषित रहेको भन्दै कारबाहीका लागि नास्टले खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई प्रतिवेदन बुझाए पनि विभागले भने कुनै कारबाही गर्न सकेको छैन ।

मानव स्वास्थ्यमाथि नै खेलबाड गरी व्यापारको नाममा बद्मासी गर्ने व्यापारीलाई हालसम्म पनि कारबाहीमा ल्याउन नसकिएको हो । नास्टको प्रतिवेदनअनुसार खानेपानीमा चरमरूपमा बद्मासी भएको तथ्य उजागर भए पनि विभागले भने उक्त प्रतिवेदनलाई वेवास्ता गर्दै आएको छ । विभागले नास्टको गत वैशाखमा सार्वजनिक गरेको प्रतिवेदनको वैधानिकतामाथि नै प्रश्न उठाउँदै कारबाही प्रक्रियामा वेवास्ता गर्दै आएको छ ।

नास्ट तथा विभाग दुवै सरकारी निकाय भए पनि जार तथा बोटलको पानी नियमन तथा गुणस्तर जाँच्ने अधिकार कुन निकायको हो भन्ने बारेमा आन्तरिक विमति रहेका कारण पनि कारबाहीमा ढिलाई भएको विभागका एक अधिकारीको भनाइ छ।

दुई सरकारी निकायबीच आवश्यक समन्वय हुन नसक्दा आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढ्न सकेन नै दूषित पानी बेचेर बद्मासी गर्ने कम्पनीको नाम पनि सार्वजनिक हुन सकेको छैन ।

उपत्यकामा बिक्री हुने ५० भन्दा बढी कम्पनीका जार तथा बोतलमा अखाद्य पदार्थ रहेको विषयमा नास्टले प्रतिवेदन बुझाउँदै कारबाहीका लागि गत वैशाखमा नै विभागलाई आग्रह गरेको भए पनि विभागले भने हालसम्म पनि कुनै प्रक्रिया अगाडि बढाउन सकेको छैन ।
पछिल्लो समय पानीमा कर लगाएको भन्दै उल्टै व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

पानीजस्तो अत्यावश्यक वस्तुमा भएको फोहोरी खेलमा सरकारी निकाय मौन वस्नु तथा व्यापारीहरुको मनोमानी हावी हुँदा चेपुवामा भने सर्वसाधारण नै परेका छन् । पानी उत्पादन गर्दै आएका व्यवसायीले आफँहरु कर तिर्न नसक्ने भन्दै पानीको बिक्री वितरण नै बन्द गरेका छन् ।