शिवम् सिमन्टको शेयर आजदेखि स्थानीयलाई

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा
निजी क्षेत्रबाट सिमेन्ट उत्पादन गर्दै आएको शिवम् सिमेन्ट उद्योगको प्रिमियमसहितको साधारण शेयर आइतबारदेखि स्थानीयबासीलाई बिक्री शुरु हुने भएको छ । सिमेन्ट उत्पादक कम्पनीमध्ये शिवम् सिमेन्टले पहिलोपटक प्रिमियमसहित आईपीओ जारी गर्न लागेको हो ।

आइतबारदेखि ८ लाख ८० हजार कित्ता स्थानीय (मकवानपुरबासी) का लागि प्राथमिक शेयर जारी हुने भएको छ । प्रथम चरणमा आयोजना प्रभावित क्षेत्र (मकवानपुर) का बासिन्दाका लागि बिक्री गर्न लागिएको छ । प्रतिकित्ता एक सय रुपियाँको शेयरमा प्रिमियम २ सय रुपियाँसहित प्रतिकित्ता ३ सय रुपियाँ मूल्य कायम गरिएको उद्योगले जनाएको छ ।
कम्पनीको माघ ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको थियो । पुस २५ गते सम्पन्न कम्पनीको दोस्रो वार्षिक साधारणसभाले साधारण शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

हेटौंडाको सिद्धार्थ बैंक, महालक्ष्मी विकास बैंक, सांग्रिला विकास बैंक, गरिमा विकास बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक, नेपाल बंगलादेश बैंक, जनता बैंक र बैंक अफ काठमाडौंको हेटौंडास्थित शाखाबाट फर्म भर्न पाइने छ ।

 

त्यस्तै एनआईसी एसिया बैंकको हेटौंडा, मनहरी र भीमफेदी शाखा, बैंक अफ काठमाडौंको हेटौंडा र कुलेखानी शाखा, सेञ्चुरी कमर्सियल बैंकको हात्तीसुँडे, भीमफेदी, मनहरी, दामन, बज्रबाराही, हटिया, चौघडा, कमाने, बस्तीपुर शाखामा पनि आवेदन दिन सकिने छ । शेयर खरिद गर्न चाहने आवेदकले आइतबारदेखि भदौ ११ गतेसम्म आवेदन दिन सक्नेछन् ।

ग्रामीण क्षेत्रमा पनि आवेदन दिन सकिने गरी व्यवस्था मिलाइएकाले शिवम्को शेयर माग बढी हुने अनुमान गरिएको छ । आवेदकले न्यँनतम् १० कित्तादेखि अधिकतम् १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । शिवम् सिमेन्टले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडलाई जिम्मा दिएको छ ।

गत वर्ष धितोपत्र बोर्डले वास्तविकलगायत अन्य क्षेत्रले न्यँनतम् १० प्रतिशत शेयर सर्वसाधारणलाई निष्काशन गर्न पाउने व्यवस्था गरेपछि शिवम्ले पनि आईपीओ निष्काशन प्रक्रिया अगाडि बढाएको हो ।

प्रिमियममा आईपीओ जारी हुने हुँदा कम्पनीको वित्तीय स्थिति स्थानीय लगानीकर्ताका लागि महत्वपूर्ण छ । शेयर बजारमा सिमेन्ट कम्पनीको कारोबार नभएकाले लगानीकर्तालाई यसमा दाँज्ने अवसर छैन । हाल दोस्रो बजार घटेर न्यून विन्दुमा आएका बेला कम्पनीले जारी गर्न लागेको आईपीओको मूल्यलाई कतिपयले महँगो भनिरहेका छन् । आईपीओको वर्तमान मूल्यभन्दा पनि लगानीकर्ताले कम्पनीको वित्तीय स्थिति र आगामी दिनमा गर्ने प्रगति तथा सम्भावित प्रतिफल केलाउनु जरुरी हुन्छ ।

कम्पनीको वित्तीय स्थिति सवल बन्दै जाने हो र प्रतिफल बढ्दै जान्छ भने बजारमा सूचीकृत भएपछि उसको मूल्य पनि स्वभाविकरुपमा बढ्दै जान्छ । त्यसो भए लगानीकर्ताले प्रतिफलबाट मात्रै होइन, शेयरको मूल्यबाट पनि नाफा लिन सक्छन् ।

मकवानपुरबासीले शेयर भर्न चाहे डिम्याट खाता नभए पनि हुने बताइएको छ । प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने अनुमति पाएको शिवम् सिमेन्टले ९ महिनामा ९३ करोड ६६ लाख रुपियाँ नाफा गर्न सफल भएको जनाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार २०७४ चैत मसान्त अवधिमा सो मात्रामा नाफा कमाउन सफल भएको हो ।

२०७४ असारमा शिवम्को नाफा ८१ करोड १३ लाख रुपियाँ थियो । कम्पनीको मुनाफा आर्थिक वर्ष २०७५÷०७६ मा १ अर्ब ४३ करोड ३० लाख र आव २०७६÷०७७ मा १ अर्ब ८५ करोड ५० लाख रुपियाँ पुग्ने प्रक्षेपण गरेको छ ।

चुक्ता पुँजी ३ अर्ब ८७ करोड २० लाख रुपियाँ रहेको शिवम् सिमेन्टको जगेडा कोषमा २ अर्ब १६ करोड रुपियाँ छ । कम्पनीले ९ महिनामा २ अर्ब ५२ करोड ४४ लाख रुपियाँ सञ्चालन मुनाफा आर्जन गरेको देखिन्छ । बोनस र कर अघिको नाफा भने १ अर्ब १९ करोड ८२ लाख रुपियाँ छ ।

शेयर पुँजी भने आर्थिक वर्ष २०७६÷०७७ सम्म आईपीओ बिक्रीपछि हुने ४ अर्ब ४० करोड रुपियाँ नै कायम हुनेछ । इक्रा नेपालले शिवम्को आईपीओलाई ३ प्लस रेटिङ दिएको छ ।
चीनको होङ्सी सिमेन्टसँग साझेदारीमा रहेको शिवम् सिमेन्टको उद्योग हेटौंडामा छ । उद्योगबाट दैनिक ६ हजार टन सिमेन्ट उत्पादन हुँदै आएको छ ।