मन्त्री बाँस्कोटाद्वारा पत्रकार गुरुङको स्वास्थ्यस्थितिबारे जानकारी


पोखरा ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मिर्गौलामा समस्या आई उपचार गराइरहेका पत्रकार राजबहादुर गुरुङको स्वास्थ्यस्थितिबारे जानकारी लिनुभएको छ ।

पत्रकार गुरुङको पोखरा महानगरपालिका वडा नं १६ दीपस्थित निवासमा नै पुगी मन्त्री बाँस्कोटाले आज स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको हो ।

भेटमा पत्रकार गुरुङलाई मनोबल उच्च राखेर उपचारमा लाग्न आग्रह गर्दै मन्त्री बाँस्कोटाले व्यक्तिगत एवं सरकारकोतर्फबाट सहयोग गर्ने बताउनुभयो ।

उक्त अवसरमा पत्रकार गुरुङले मिर्गौलामा समस्या भएका सर्वसाधारणले अस्पतालमा उपचारका क्रममा भोग्ने गरेका कठिनाइका साथै उपचार सर्वसुलभ हुन नसकेकोलगायत विषयमा मन्त्रीलाई जानकारी गराउनुभयो ।
रासस