लस्दी नियन्त्रणका लागि साढे तीन करोड रकम माग


नेपाल समाचारपत्र, पर्वत ।
गत साउन १ गते राती आएको बाढीले कटान गरेको जलजला गाउँपालिका वडा नं ७ र ८ मा पर्ने लस्तीखोला नियन्त्रणका लागि ३ करोड ५० लाख रुपैया रकम माग गरिएको छ ।
जिल्ला बिपद् ब्यबस्थापन समितिको हालै बसेको बैठकले खोलाको कटान नियन्त्रण गर्नका लागि ३ करोड ५० लाख ९० हजार रुपैया माग गर्ने निर्णय गरेको हो ।
बाढी र पहिरोले कटान गरेको क्षेत्रमा भाबी जोखिम नियन्त्रणका लागि नदी लागि तत्कालै तटबन्ध बनाउनुपर्ने भएकाले गण्डकी प्रदेश तथा संघीय सरकारको भौतिक पुर्वाधार बिकास र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा उक्त रकम माग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । जल उत्पान्न प्रकोप ब्यबस्थान डिभीजन कार्यालय बागलुङ्गबाट लगत स्टिमेट तयार गरिएको छ । ‘बाढी पहिरोबाट बिस्थापितलाई पुर्नस्थापित गर्न तथा भावी दिनमा जोखिम न्युनीकरण गर्न खोला नियन्त्रण गर्न आवश्यक भएकाले रकम माग गर्ने निर्णय भएको हो’ उनले भने । लस्दीखोलाको कटानबाट दर्जन घर बिस्थापित छन भने खोलाका कारण लस्तीबजारका १ सय २० भन्दा धेरै घर जोखिममा छन । उनीहरु रातको समयमा सुरक्षित स्थानमा गएर बस्दै आएका छन ।

यसैगरी बाढी र पहिरोले क्षति पु¥याएको लस्ती फर्से सिंचाई लगायतका सिंचाई योजना मर्मतका लागि ३१ लाख १८ हजार रुपैया माग गर्ने निर्णय पनि बैठकले गरेको छ । लस्ती फर्से सिंचाई योजनामा क्षति पुग्दा ५ सय रोपनी खेत बाँझो रहने संभावना छ । अहिले ३ रोपनीमा रोपाई सकिएपनि सिंचाईको अभाबमा ुसुख्खा हुने र २ सय रोपनी खेतमा रोपाई हुन नसकेपछि बाँझो नै रहने साविक नाङ्गलिबाङ्ग गाबिसका पुर्व उपाध्यक्ष हरेमबहादुर खत्रीले बताए । सिंचाईमा पुगेको क्षतिका बारेमा सिंचाई बिकास सब डिभीजन पर्वतले लागत स्टिमेट तयार पारेको थियो । यसैगरी लस्दीबजार, धाइरिङ्ग र बरनेटा लगायतका क्षेत्रमा खानेपानी प्रणालीमा पुगेको क्षति मर्मतका लागि ८ लाख ५० हजार रुपैया माग गर्ने निर्णय पनि भएको छ ।

बाढी पहिरो प्रभावितहरुको राहत र उद्दारका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीना, प्रतिनिधीसभा सदस्य पदम गिरी, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बिकास लम्साल, जलजला गाउँपालिका जनप्रतिनिधी, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल लगायत राजनैतिक दलका प्रमुखहरुले पहल गर्दै आइरहेका छन ।