संस्कृत भाषालाई लोप हुन दिन नहुने


काठमाडौँ ।
नेपालको हिमाली भूमिमा विकसित भएको संस्कृत शिक्षाप्रति विश्वसमुदायकै झुकाव बढ्दै गएका बेला प्रारम्भिक भूमिमा लोप हुन दिनु नहुनेमा जोड दिइएको छ ।

महेश संस्कृत गुरुकूल देवघाटको रजत वर्ष महोत्सव एवं गुरुकूलका संस्थापक ब्रह्मलीन स्वामी डा रामानन्दगिरीको प्रथम वार्षिक स्मृति दिवसका अवसरमा शंकराचार्य मठ पशुपतिमा सम्पन्न तीनदिने सम्मेलनमा यस्तो निष्कर्ष निकालिएको हो ।

नेपालका धेरै जातजाति, भाषाभाषी तथा जनसमुदायको मूल संस्कृत भाषा भएकाले ब्राह्मणले मात्र नभई सबै वर्गले संस्कृत पढ्नुपर्ने निष्कर्ष सम्मेलनले निकालेको सम्मेलन एवं प्रथम गुरु स्मृति महोत्सव कार्यक्रम संयोजक सह प्रा डा मुकुन्दप्रसाद लामिछानेले राससलाई जानकारी दिनुभयो ।

स्वर्गीय डा स्वामी रामानन्द गिरीलाई राष्ट्रिय विभूतिका रूपमा राज्यले सम्मान गर्नुपर्ने, उहाँद्वारा संस्थापित महेश संस्कृत गुरुकूलको उन्नयनमा सबै लाग्नुपर्ने, सबै गुरुकूलको अभिभावकका रूपमा नेतृत्वदायी जीवनयापन गर्नुभएका उहाँको विचार र चिन्तनधारालाई प्रचारप्रसार र अनुशरण गर्नुपर्ने, महेश गुरुकूललाई आवश्यक पूर्वाधारसहितको उत्कृष्ट अनुसन्धान केन्द्रका रूपमा विकसित गर्नुपर्नेमा कार्यक्रमका सहभागीले जोड दिनुभएको थियो ।

सम्मेलनमा सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयका मीमांसा विभाग अध्यक्ष प्रा डा कमलाकान्त त्रिपाठीलगायत विद्वान्को समूह पनि सहभागी भएको थियो । सो अवसरमा उहाँले गुरुकुलीय शिक्षामा शास्त्रीय ज्ञानसँगै आचार एवं स्व–अनुशासन प्रमुख पक्ष रहेको बताउनुभयो ।

सम्मेलन साउन ९ गतेदेखि ११ गतेसम्म भएको थियो । सम्मेलनमा चारवटा कार्यपत्रसहित छलफल गरेर यस्तो निष्कर्ष निकालिएको हो ।
रासस