पर्वतबाट ४३ लाख कम राजस्व संकलन


नेपाल समाचारपत्र, पर्वत ।
जिल्ला प्रशासन कार्यालय पर्वतले संकलन गर्दै आएको राजस्वमा ४३ लाख रुपैयाले कमी आएको छ ।
जिल्ला प्रशासन कार्यालयले आर्थिक बर्ष २०७३÷०४ को तुलनामा आब २०७४÷०७५ मा ४३ लाख ४४ हजार कम राजस्व संकलन भएको हो ।
कार्यालयले आर्थिक बर्ष ०७४÷०७५ मा बिभिन्न शीर्षकमा गरि १ करोड ३१ लाख ४७ हजार ९ सय ८७ रुपैया राजस्व संकलन गरेको छ भने अघिल्लो आर्थिक बर्ष २०७३÷०७४ मा १ करोड ७४ लाख ९ हजार ३३ रुपैया राजस्व संकलन गरेको थियो ।

कार्यालयले संकलन गर्ने राजस्वको ठुलो हिस्सा राहदानी सिफारिसबाट प्राप्त गर्दै आएको छ । आर्थिक बर्ष २०७४÷०७५ मा राहदानीबाट १ करोड २८ लाख ४७ हजार ५ सय रुपैया राजस्व संकलन गरेको छ भने अघिल्लो आर्थिक बर्ष २०७३÷०७४ मा राहदानीबाट १ करोड ६३ लाख ८५ हजार राजस्व संकलन गरेको थियो । राहदानी लिनेको संख्या नै कम भएका कारण यस आर्थिक बर्षमा ३५ लाख ३७ हजार ५ सय कम राजस्व संकलन भएको कार्यालयले जनाएको छ ।

यसबाहेक बिभिन्न संस्था नविकरणबाट आब २०७४÷०७५ मा २ लाख ५१ हजार ६ सय ५० राजस्व संकलन गरेको छ भने सोही शीर्षकमा अघिल्लो आबमा ३ लाख ९१ हजार ७ सय राजस्व संकलन भएको थियो । हातहतियार नविकरणबाट ०७४÷०७५ मा २८ हजार ८ सय ३७ रुपैँया राजस्व संकलन भएकोमा अघिल्लो आर्थिक बर्षमा भने ४० हजार ३ सय ६३ रुपैया संकलन भएको थियो । यसैगरी अन्य प्रशासनिक दण्ड जरिवानाबाट आब ०७३÷०७४ मा २० हजार मात्रै राजस्व संकलन भएको छ भने अघिल्लो आर्थिक बर्षमा भने ६ लाख ७५ हजार राजस्व संकलन भएको छ ।
बसाईसराई गर्ने, इलाका हुवास इलाका प्रशासन कार्यालयबाट सेवा लिने लगायतका कारणले राहदानी बनाउनेको संख्या घटेकाले कार्यालयको राजस्व संकलनमा समेत कमि आएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।