कमल पोखरी जोगाउँन ७५ लाख बजेट


पुष्कर बुढाथोकी, भक्तपुर ।
व्यक्तिको नाममा नामसारी भएर बिक्री भईसकेको मध्यपुरथिमि नगरपालिका ८ बोडेको ऐतिहासिक कमल पोखरी अदालतद्धारा सार्वजनिक पोखरी नै कायम हुने फैसलासंगै स्थानीय बासिन्दा पोखरी जोगाउँन जुटेका छन् । पोखरीको संरक्षण गर्दै बोट चलाएर आन्तरिक पर्यटकको गन्तव्य स्थलको रुपमा विकास गर्ने लक्ष्यका साथ मध्यपुरथिमि नगरपालिकाले पोखरी संरक्षणका लागि रु. ७५ लाख बजेट हालै विनियोजन गरेको छ ।

भक्तपुर जिल्ला अदालतका न्यायाधिस मातृकाप्रसाद मरासिनीको ईजलासले उक्त पोखरी सार्वजनिक पोखरी नै रहने गरि गत साता फैसला गरेपछि नगरपालिका र स्थानीय बासिन्दा पोखरी संरक्षणमा जुटेको हो । फैसला भएको भोलीपल्ट नै मध्यपुरथिमि नगरपालिकाले पोखरीमा डोजर लगृेर सम्याउँने र सफा गर्ने काम गरेको थियो । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले यो पोखरीको संरक्षणका लागि नगरपालिकाले हालै रु. ७५ लाख बजेट विनियोजन गरेको बताउनुभयो । उहाँले भन्नुभयो–“यो धार्मिक एवं साँस्कृतिक मत्व बोकेको पोखरीको संरक्षण गर्दै बोट संचालन गर्ने र आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनाउने छौ ।”

पलिस्वाँ पुखुः संरक्षण समितिका अध्यक्ष तथा नेपाली कांग्रेस भक्तपुरका पुर्व सभापति गणेशमान चक्रधरले भूमाफियाहरुसंग स्थानीयले कानूनी लडाई लडेर सार्वजनिक रुपमा फर्काईएको पोखरीको संरक्षण गरिने बताउनुभयो । उहाँले भन्नुभयो–“अब नगरपालिका र हामी स्थानीय बासिन्दा मिलेर यो पोखरीको संरक्षण गर्ने छौ, भूमाफिया फेरी सल्बलाए, हामी जवाफ दिनेछौ ।” व्यक्तिको नाममा गएपछि पोखरीमा बस्ती बसाल्न डोजर लिएर आएका भूमाफियाहरुलाई स्थानीयले पटक पटक लखेटेका थिए ।
स्थानीय बासिन्दा एवं नेमकिपका नेता रमेश थापा श्रेष्ठले आफूहरु सानो छदाँ कमलको फूल फुल्ने र पौडी खेल्ने यो पोखरीमा फुलेको फूलले स्थानीय लायकू दरबारमा तलेजुलाई चढाउने र साउनमा हुने नीलबाराही नाचमा सोही पोखरीमा फुलेको कमलको फूल चढाएर जात्रा चलाउने परम्परा सयौ वर्षदेखि रहेको यो परम्परा निरन्तर रहने बताउनुभयो ।

स्थानीय विरेन्द्र जयनाले नगरपालिकाले पोखरीको वरिपरि पर्खाल लगाउँने, अतिक्रमित जग्गा भए निकाल्ने, पोखरीलाई आकर्षक बनाईने र पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने योजना रहेको बताउनुभयो ।सयौवर्ष अगाडिदेखि सार्वजनिक पोखरीको रहेको तत्कालिन बोडे गाउँ पञ्चायत वडा नं. ६ कित्ता नं. १ को १५ रोपनी ९ आना सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भई बिक्री वितरण गरेको भन्दै बोडे, नगदेशका बासिन्दाले व्यक्तिको नाममा गएको सो पोखरी सार्वजनिक रुप मै फर्काइनु पर्ने माग गर्दै अदालत गएका थिए ।
२०४२ साल असार ३१ गते कान्छी पोडेनीको नाममा दर्ता भई २०५१ साल माघ २२ गते अधिकृत वारेशनामा बकसपत्र गरि मनाङ्ग घरभई काठमाण्डौ ठमेल बस्ने ग्ल्याल्पो गुरुङ्ग, तेन्जी शेर्पिणी, जद्योना गुरुङ्ग बिक्री हुदै बिक्री भएको थियो । ग्ल्याल्पोले अन्य बिभिन्न व्यक्तिलाई जग्गा बिक्री गरेका थिए ।