एयरपोर्टले अतिक्रमण गरेको जग्गाको मुआब्जा ढिलाइप्रति जग्गाधनीको आपत्ति


उत्तम नेपाल, भद्रपुर ।
विमानस्थल स्तरोन्नतिका लागि अनुमानित १२ विगाहा जमीन रोक्का गरेको सात महिना पुगेपनि हालसम्म जग्गाधनीलाई कुनै जानकारी नगराएको भन्दै पीडितले आपत्ति जनाएका छन् । झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयको स्तरोन्नतिका लागि ६२ जनाबाट अतिक्रमण गरिएको जग्गालाई सरकारी निकाय तथा एयरपोर्टको लापरबाहीले जग्गाधनी अन्यौलमा पारेको उनिहरुको आरोप छ । चलनचल्तीको दरमा सरकारले मुआब्जा नदिने हो भने तत्काल फुकुवा गर्नुपर्ने उनिहरुको माग छ ।

झापाको साविक चन्द्रगढी गाविस ७ हाल भद्रपुर नगरपालिका ८ र ९ भएपनि जग्गा भने भद्रपुर १० मा नक्सा बनेको उल्लेख छ । जग्गालाई विमानस्थलको स्तरोन्नतिका लागि ०७३ मङ्सीर ८ गते मन्त्रीस्तरको निर्णयले स्थायी रुपमा जग्गा प्राप्ती गर्नको लागि सो क्षेत्रलाई निर्णय गरेको थियो । धावनमार्गको पूर्वमा विमानस्थलको उत्तर र दक्षिणमा भएको तारवार तथा पूर्वमा भद्रपुर– धुलाबारी सडकबीचको जग्गा ,जग्गामा निर्माण भएका घरटहरा तथा अन्य संरचनाहरु समेत स्थायी रुपले प्राप्त गर्नुपर्ने भएकोले जग्गा प्राप्ती ऐन २०३४को दफा ९,१० र ११ बमोजिम सो क्षेत्रभित्र पर्ने सम्बन्धित जग्गाधनीले मुआब्जा दावी गर्न ०७४ माघ १२ गते ३५ दिने जग्गा प्राप्ती सम्बन्धि सूचना जिल्ला प्रशासन कार्यालय झापाले प्रकाशित गरेको थियो ।

प्रकाशित सूचनामा सबुत प्रमाणसहित रितपूर्वको निवेदन चन्द्रगढी नागरिक उड्डयन कार्यालयमा पेश गर्न जानकारी गराइएको थियो । अतिक्रमण गरिने जग्गामा ६० जना जग्गाधनीको नामसहित र दुइकित्तामा श्रेस्ता फेला नपरेको उल्लेख छ । प्रकाशित सूचनामा जम्मा क्षेत्रफल मध्ये एयरपोर्टले लिने ११ विगाहा ८ कठ्ठा साढे १६ धुर उल्लेख गरिएको छ । सो क्षेत्रमा कृष्ण देवी कानू,मदन राई, कुमारी स्वर्णीका ,कल्पना राई र गङ्गा देवी न्यौपानेको घर रहेका छन् भने अन्य जग्गा खाली रहेको छ । सूचना जारी गरेसँगै जग्गाधनीले सम्पूर्ण प्रक्रिया पूरा गरेपनि हालसम्म एयरपोर्टले कुनै आधिकारिक जानकारी नगराएको कुमारी स्वर्णीकाले बताइन् ।

जग्गामा घर बनाउदै गरेको अवस्थामा एयरपोर्टको हाकीम पूर्ण चुडालले ‘यो घर रोक्नँुस हामीले जग्गा लिइसकेका छौं ।’ ‘तपाईहरुको मुआब्जा चार महिनाभित्र उपलब्ध गराउँछौं ’भनेपनि हालसम्म कुनै जानकारी नगराएको उनको भनाइ छ । जग्गा रोक्का गरी मुआब्जा पनि नदिएकोले एयरपोर्टको नाम लिएर जग्गाधनीलाई उठिबास लगाएको उनको आरोप छ । चलनचल्तीको मूल्याङ्कन दिनु परो नभए जग्गा फुकुवा गरी कारोबार सहज बनाइदिन उनले अनुरोध गरेकी छन् । जग्गा रोक्कामा परेका जग्गाधनीले बारम्बार प्रमुख जिल्ला अधिकारीलाइ मौखिक जानकारी गराएपनि हुन्छ मात्र भनेको काम नगरेको शम्भू थापाले बताए । चारकिल्ला कायम गरेबापत सम्बन्धित वडा कार्यालयले राजस्व समेत जग्गाधनीबाट असुलेको थपाले बताए ।

मुआब्जा आउछ भनेर म्याद दिएको तीन पटक भाका नाघिसके पनि कुनै काम नभएको उनको भनाइ छ । प्रशासन र एयरपोर्टले वास्ता नगरेको उनले आरोप लगाए । जग्गा नापजाँच गर्न पठाइसकेको भने पनि हालसम्म कोही नाआएको उनको भनाइ छ । जनतालाइ उठिबास लगाएर देशविकास नहुने सोनु कानूले बताए । तत्काल यो विषयमा सुनुवाइ नभए केहीदिन भित्र लिखित निवेदनसहित रोक्का भएका जग्गाधनीले जिल्ला प्रशासनमा र एयरपोर्टमा पत्र बुझाइने उनले जनाए । जग्गा रोक्काको विषयमा कुनै जानकारी नभएको वडा नम्बर ९का अध्यक्ष शनिलाल राजवंशीले बताए । चारकिल्लाको सिफारिस भने वडामा आएको निवेदनको आधारमा गरिसकेको उनको भनाइ छ ।
जग्गाधनीलाइ भन्दापनि एयरपोर्टलाइ बढी चिन्ता भएकोले आउदो भदौ मसान्तसम्म सवै पक्रिया पूरा हुने नागरिक उड्डयन कार्यालय चन्द्रगढीका प्रमुख पूर्ण चुडालले बताए ।

जग्गाको विषयलाइ लिएर काठमाडौ आएकोले जग्गाधनीलाइ अब केहीदिन धैर्य गर्न उनले अनुरोध गरेका छन् । वडामा भएको जग्गाको विषयमा कुनै आधिकारिक पत्र नआएको वडा नम्बर ८ का अध्यक्ष गौरब सुब्वाले बताए । मूल्याङ्कन समितिको सदस्यमा सम्बन्धित वडाका अध्यक्षलाइ समावेश नगराएकोमा उनले आपत्ति जनाए । जिल्ला प्रशासन कार्यालयको पत्रका आधारमा जग्गा रोक्का गरिएको जिल्ला मालपोत कार्यालय झापाका प्रमुख मालपोत अधिकृत रोशनशङ्कर घिमिरेले बताए । प्रक्रिया पूरा भएपछि मुआब्जा पाउने उनको भनाइ छ ।

नगर प्रमुखको संयोजकत्वमा मूल्याङ्कन निर्धारण उपसमिति निर्माण भएकोले समितिको प्रतिवेदन मूलसमितिलाई प्राप्त भएपछि प्रक्रिया अघि बढ्ने प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए । जग्गा प्राप्तीको प्रक्रिया लामो हुने भएपनि केही ढिलाइ चै भएको प्रजिअ दाहालले स्वीकारे । मुआब्जाको विषयमा मन्त्री स्तरको वैठकले नै निर्णय गर्नु पर्ने भएकोले बढी समय लाग्नु स्वभाभिक भएको उनले जनाए ।