विश्वकपमा पाभार्डको गोल उत्कृष्ट


लन्डन, (एजेन्सी)
गत साता सम्पन्न फिफा विश्वकप फुटबलमा फ्रान्सका डिफेन्डर बेन्जामिन पाभार्डले गरेको गोल उत्कृष्ट बनेको छ ।

फ्रान्सले अर्जेन्टिनाविरुद्ध ४–३ ले जितेको अन्तिम १६ को उक्त खेलमा पाभार्डले गरेको गोल रुसमा सम्पन्न विश्वकपकै उत्कृष्ट भएको फिफाले जनायो । पाभार्डले डिबक्स बाहिरबाट प्रहार गरेको कडा प्रहारमा बल घुम्दै जाली चुमेपछि उत्कृष्ट गोलमा परिणत भएको थियो । फिफाको मनोनयनमा परेको उत्कृष्ट गोलमध्ये अनलाइन भोटिङको आधारमा पाभार्डको गोल उत्कृष्ट भएको थियो ।

उत्कृष्ट गोलको सूचीको दोस्रो नम्बरमा कोलम्बियाका जुवान क्विनटेरोले गरेको गोल रहेको छ । उनले जापानविरुद्ध फ्रि–किकमा गोल गरेका थिए । यस्तै क्रोएसियाका लुका मोड्रिचको गोल तेस्रो भएको छ । मोड्रिचले अर्जेन्टिनाविरुद्ध लामो दुरीबाट उत्कृष्ट गोल गरेका थिए ।

रुस विश्वकपको उत्कृष्ट गोलको सूचीमा चौथो नम्बरमा पोर्चुगलका स्टार रोनाल्डोको गोल रहेको छ । उनले स्पेनविरूद्ध गरेको फ्रि–किक गोलले चौथो स्थान ओगटेको थियो ।

यस्तै अर्जेन्टिनाका मेसीले नाइजेरियाविरूद्ध गरेको गोल पाँचौ उत्कृष्ट गोल बन्यो । रूस विश्वकपमा ६४ खेलबाट कुल १ सय ६९ गोल भएको थियो । फिफाले उत्कृष्ट गोलको लागि १२ गोललाई अनलाइन भोटिङको लागि राखेको थियो ।