साफ र एसियनको लागि थाइल्यान्डमा जाँदै नेपाली टोली


काठमाडौं, (नेस)
ग्योटोकु कोजीको नेतृत्वमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली १० दिनका लागि थाइल्यान्ड जाँदैछ । थाइल्यान्डमा आगामी शुक्रबारदेखि शुरु हुने प्रशिक्षणमा सहभागि हुन नेपाली टोली अगस्ट ३ मा त्यसतर्फ प्रस्थान गर्ने एन्फाले जनायो । इन्डोनेसियाको जाकार्तामा हुने एसियाली खेलुकद र साफ च्याम्पियनसिपका लागि नेपाली टोलीले प्रशिक्षण लिन लागेको हो ।

अगस्ट १४ देखि सेप्टेम्बर १ सम्म हुने एसियाली खेलकुदमा नेपालले राम्रो नतिजा निकाल्न सहयोग हुने प्रशिक्षक कोजीले बताएका छन् । यसैगरी बंगलादेसमा सेप्टेम्बर ४ देखि शुरु हुने साफ च्याम्पियनसिपका लागि पनि सो प्रशिक्षणबाट मद्दत पुग्ने नेपाली टोलीको विश्वास रहेको छ । नेपालले उपाधि जित्ने लक्ष्य लिएको पनि कोजीले जनाएका छन् ।

एसियाली खेलकुदअन्तर्गत समूह डी मा रहेको नेपालले जापान, भियतनाम र पाकिस्तानसँग भिड्नेछ । त्यस्तै साफ च्याम्पियनसिपमा नेपालको समूहमा बंगलादेस, पाकिस्तान र भुटान रहेका छन् । सिनियर र जुनियर गरी २९ जना सदस्यीयको नेपाली टोलीले अघिल्लो तीन महिनादेखि क्याम्पमा रहेर तयारी गरिरहेको छ । जसमा एसियाली खेलकुदको लागि तीन सिनियर खेलाडीसँगै २३ वर्ष मुनिका खेलाडी रहनेछन् । जसमा २३ खेलाडी रहनेछन् ।

यसैगरी साफको लागि पनि प्रशिक्षण भइरहेकोे प्रशिक्षक बालगोपाल महर्जनले बताए । महर्जनले नेपाल समाचारपत्रलाई बताए—साफ पनि आउन लागेको हुँदा सिनियर र जुनियर खेलाडीलाई एकै ठाउँमा राखेर प्रशिक्षण दिइरहेका छौ । नेपालले सकेसम्म थाइल्यान्डको राष्ट्रिय टोलीसँग खेल्न कुरा गरिरहेको छ । त्यहाँ दुई खेल खेल्ने हो । प्रशिक्षण राम्रै भइरहेको छ । यसपालि केही नयाँ खेलाडीले पनि राम्रो गरिरहेका छन् ।

२९ खेलाडी यस प्रकारका छन् ः आदित्य चौधरी, एलन न्यौपाने, अनन्त तामाङ, अन्जन विष्ट, भरत खवास, बिकेश कुथु, बिमल घर्तीमगर, बिराज महर्जन, विशाल राई, देवेन्द्र तामाङ, दिनेश राजवंशी, जर्ज प्रिन्स कार्की, हेमन गुरुङ, हेमन्त थापामगर, कमल श्रेष्ठ, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, रबिन श्रेष्ठ, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन लामा, सुनील बल । नयाँ अनुहारः सुमन अर्याल, तेज तामाङ, छिरिङ गुरुङ, अभिषेक रिजाल, गौरव बुढाथोकी र सोजीत गुरुङ ।