बिपीको विचारलाई अवलम्बन गर्नुपर्छः महामन्त्री डा.कोइराला


नवलपरासी ।
नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेपाली काँगे्रसका कार्र्यकर्ता अब एक ढिक्का भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।

छत्तिसौँ बिपी स्मृति दिवसका अवसरमा काँगे्रस जिल्ला कार्य समिति नवलपरासीले कावासोतीमा आयोजना गरेको विचार गोष्ठीमा उहाँले भन्नुभयो, “सबैभन्दा पहिले त हाम्रो घरै ठीक गर्नुपर्छ, हाम्रो घरै ठीक छैन, गुटउपगुट छ, त्यसलाई अन्त्य गर्नुपर्छ ।”

महामन्त्री डा कोइरालाले मुलुक र नेपाली जनताको आवश्यकताअनुसार काँग्रेसको आउँदो महाअधिवेशन कुनै गुटउपगुटको नभई एकताको हुनुपर्नेमा जोड दिदैं कुनै पनि गुटउपगुट नभएको एकता महाअधिवेशन आफूले हेर्न चाहेको बताउनुभयो ।

बिपीले आफ्ना कार्यकर्तालाई सम्मान, माया र आत्मीयता प्रदान गरेकै कारण बिपी आज सबैमाझ लोकप्रिय रहेको उल्लेख गर्दै उहाँले बिपीको विचारलाई अवलम्बन गरेर नेपाली काँगे्रस अगाडि बढ्नुपर्ने बताउनुभयो ।

नेपाली काँगे्रसका सहमहामन्त्री डा प्रकाशशरण महतले बिपीको सिद्धान्तलाई नेपाली काँगे्रसका कुनै पनि नेता तथा कार्यकर्ताले बिर्सन नहुने बताउँदै बिपीको सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको धारणा व्यक्त गर्नुभयो ।

बिपीले देखाएको बाटोमा हिँड्न सके मात्रै अबको काँगे्रस बलियो हुने पनि उहाँले बताउनुभयो ।
रासस