कर्तव्य ज्यान र बहुविवाह मुद्धाका दुई फरार प्रतिबादी पक्राउ


सीताराम चौधरी, कपिलवस्तु ।
छुट्टाछुट्टै मुद्धामा फरार रहेका कपिलवस्तुका दुई प्रतिबादीलाई प्रहरीले पक्राउ गरेको छ । कपिलवस्तु नगरपालिका ६ बस्ने २५ वर्षे लोहे भन्ने रमापति यादव र यशोधरा गाउँपालिका ७ बस्ने सुकदेव पाण्डे रहेका छन् ।

यादव कर्तव्य ज्यान गरी फरार रहँदै आएका थिए । पाण्डे भने बहुविवाह मुद्धामा ७ वर्षदेखि फरार थिए । विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको प्रहरी टोलीले ती दुई प्रतिबादीलाई विभिन्न समय र स्थानबाट पक्राउ गरेको हो । कर्तव्य ज्यान मुद्धाका प्रतिबादी यादवलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी उपरीक्षक मनोज कुमार यादवले जानकारी दिनुभयो ।

पाण्डेलाई कपिलवस्तु जिल्ला अदालतले २०६९ असोज ३ गते बहुविवाह मुद्धामा २ वर्ष ६ महिना कैद र १५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । तर पाण्डे भने हालसम्म पनि फरार रहँदै आएका थिए । विशेष सुराकीका आधारमा प्रहरी टोलीले पाण्डेलाई पक्राउ गरी जिल्ला अदालतमा बुझाएको प्रहरी उपरीक्षक यादवले जनाउनुभयो । पाण्डेलाई कपिलवस्तु जिल्ला अदालतले पुर्पक्षको लागि कारागार चलान गरेको बताइएको छ ।