इलाममा भाइरलका बिरामी बढे, बालबच्चा र बृद्धबृद्धा बढी प्रभावित


गणेश घिमिरे, इलाम ।
मौसममा आएको परिवर्तनका कारण इलाममा मौसमी भाइरलको संक्रमण बढेको छ । दिनप्रतिदिन मौसम परिवर्तन भइरहँदा इलाम अस्पतालमा बिरामीको सङख्या अत्यधिक बढेको छ । अस्पतालमा आज भोलि दैनिक दुईसय जनाको हाराहारीमा बिरामी आउने गरेका छन् ।

बर्षातमा पानीका मुहान दूषित भएका कारण पानीजन्य रोगका बिरामी बढी आउने गरेको अस्पतालका स्वास्थ्यकर्मीले बताए । अहिले रुघाखोकी, पखाला, ज्वरो, टाइफाइड, ज्वरो, हातखुट्टा दुख्ने लगायतका मौसमी रोगका बिरामीको संङख्या उच्च रहेको अस्पतालका स्वास्थ्कर्मी टिका लुइँटेलले बताए । ‘बिगत पन्ध्रदिनदेखि इलाम अस्पतालमा भाइरल ज्वरोका बिरामि बढेका छन्’ लुइँटेलले भने ‘भाइलरल ज्वरोबाट सिकिस्त बनेका कतिपय बिरामिहरु इलाम अस्पतालमा उपचार हुन नसकेपछि दैनिक ४÷५ जनालाई अस्पतालले जिल्ला बाहिरका अस्पतालमा रेफर गर्दै आएको छ ।’ बिरामी दैनिक रुपमा बढेपनि औषधिको अभाव भने नभएको इलाम अस्पतालले जनाएको छ । यस्तो बेलामा खानपानमा विशेष ध्यान दिन चिकित्सकले सुझाव दिएका छन् । अस्पतालका अनुसार बालबच्चा र बृद्धबृद्धाहरु भाईरलबाट बढी प्रभावित भएका छन् । अस्पतालका अनुसार दैनिक रुपमा ओपिडिमा २ सयजना भन्दा बढी र इमरजेन्सिमा ५० भन्दा बढि बिरामिहरु आउने गरेका छन् ।

बिरामिले समयमै होसियारी नअपनाए यो समयमा भाइरल ज्वरोले सताउने गर्ने स्वास्थ्यकर्मी बताउँछन् । चिकित्सकका अनुसार वर्षा लागेपछि हिलो र पानी जम्ने भएकाले यो समयमा सरुवा रोगको संक्रमण बढी हन्छ । हावाको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै सर्ने मौसमी रुघाखोकी बालबालिकालगायत वयस्क र वृद्धवृद्धामा पनि उस्तै छ । यसबाट बच्न स्वस्थ्यकर खानेकुरा खाने, बढि हिंडडुल गर्न नहुने पानी उमोर पिउनु पर्ने चिकित्सकको सुझाव छ ।