गाउँमा बैंक खुले पनि सदरमुकाम पुग्नैपर्ने बाध्यता


हिक्मत नेपाली, दैलेख ।
दैलेखका ४ नगरपालिका र ७ गाउँपालिका मध्ये १० वटा स्थानीय तहमा बैंक पुगेपनि सरकारी कारोबार भने सदरमुकाम स्थित राष्ट्रिय वाणिज्य बैंकबाट हुँदै आएको छ । नारायण र दुल्लु नगरपालिकामा मात्र राष्ट्रिय वाणिज्य बैंकले सेवा दिँदै आएको छ । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाका कारण सदरमुकाम बाहिर वाणिज्य बैंकको पहिलो शाखा खुलेको प्रबन्धक कृष्णराज जोशीले बताए । यहाँका अन्य स्थानीय तहमा बैंकका शाखा खुले पनि उपभोक्ताहरू सदरमुकाम जानैपर्ने बाध्यता हटेको छैन् । सरकारी लगानीको बैंकबाट मात्र कारोबार गरिने भएकाले स्थानीयबासी सदरमुकाम पुग्न बाध्य भएका हुन् । सानो सरकारी रकम लिनपनि सदरमुकाम पुग्नुपर्ने बाध्यता रहेको स्थानीय बासीको भनाई छ । गाउँमा बैंक खुले पनि सदरमुकाम पुग्नैपर्ने बाध्यताका कारण सरकारी काम खर्चिलो बनेको स्थानीयको गुनासो छ ।
अहिले नारायण नगरपालिका, दुल्लु नगरपालिका, आठवीस नगरपालिकामा बैंकको शाखा विस्तार भइसकेको छ । जिल्लाका गुरासँ, डुङ्गेश्वर, भगवतीमाई, नौमूले र भैरवी गाउँपालिकामा पनि बैंकको शाखा विस्तार भइसकेको छ भने चामुण्डाविन्द्रासैनी नगरपालिकामा नेपाल एस.वि.आई बैंकको शाखा विस्तार भएपनि कारोबार भने सुरु भएको छैन् । चामुण्डाविन्द्रासैनी नगरपालिकाका अनुसार बैंक स्थापनाका लागि घर व्यवस्थापन र सिनिसिङ्गका सम्पूर्ण काम भई खाता खोल्न सुरु भएपनि पूर्ण रुपमा कारोबार सुरु भएको छैन् ।
जिल्लाको ठाटीकाँध गाउँपालिकामा एन.सि.सि.बैंकजाने भनिए पनि अहिले सम्म बैंकिङ कारोबार सुरु भएको छैन् । ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीका अनुसार बैंकका लागि घर निर्माण संगै फिनिसिंगका कामहरु तिब्र भइरहेकोले अबको एक हप्ता भित्र बैंक संचालनमा आउनेछ । यस्तै महाबु गाउँपालिका एन.एम.वी बैंकको शाखा विस्तार गर्नेे भनिएपनि अहिले सम्म बैंकको शाखा स्थापना हुन सकेको छैन् ।
जिल्लाको दुल्लु नगरपालिकामा राष्ट्रिय बाणिज्य बैंकले यस अघि देखिनै सेवा दिदै आएको छ । आठवीस नगरपालिकामा नेपाल इन्भेस्टमेन्ट बैंक डाब शाखाले सेवा दिदै आएको भएपनि नगरपालिकाको केन्द्रको रुपमा रहेको राकमकर्णालीमा भने बैंकको शाखा विस्तार भएको छैन् । नेपाल इन्भेस्टमेन्ट बैंक डाब शाखालाई राकमकर्णालीमा शाखा विस्तार गर्न आग्रह गरेको भएपनि बैंकले शाखा विस्तार गर्न आनाकानी गरेको आठवीस नगरपालिकाका उपप्रमुख दिपा बोहोराले बताइन् । पछिल्लो समय नेपाल इन्भेस्टमेन्ट बैंकले राकमकर्णालीमा शाखा विस्तार गर्न लचक देखिएपनि सांग्रीला बैंकले शाखा विस्तार गर्ने प्रवल सम्भावाना रहेको उपप्रमुख बोहोराको भनाई छ । आठबिस नगरपालिका स्थित नेपाल इन्भेस्टमेन्ट बैंकले दैलेख र अछामका बासिन्दालाई सेवा दिँदै आएको जनाएको छ ।
जिल्ला सदरमुकाममा रहेको नारायण नगरपालिकामा भने राष्ट्रिय बाणिज्य बैंक, मेघा बैंक, सिद्धार्थ बैंक, प्रभु बैंक लगाएतका एक दर्जन बढी बैंकहरु मार्फत बैंकिङ कारोबार हुँदै आएको छ । यस्तै नौमूले गाउँपालिकमा एन.एम.वि.बंैक, भैरवी गाउँपालिकमा सिभिल बैंक, भगवतीमाई गाउँपालिकामा प्रभु बैंक, डुङ्गेश्वर गाउँपालिकामा सानिमा बैंक र गुरासँ गाउँपालिकामा प्रभु बैंक मार्फत कारोबार सुरु भइसकेको छ ।

अछामको बैंकिङ कारोबार दैलेखबाट ।

आठबिस नगरपालिका स्थित नेपाल इन्भेस्टमेन्ट बैंकले दैलेख र अछामका बासिन्दालाई सेवा दिँदै आएको जनाएको छ । आठवीस नगरपालिकाको डाब स्थित नेपाल इन्भेस्टमेन्ट बैंकमा कारोबारका लागि आएकी अछाम तुर्माखाद ३ की ७० वर्षीया देवी बुढाले बैंकिङ्ग कारोबार गर्न डाब आउनु परेको गुनासो सुनाइन् । सदरमुकाम मंगलसेन जान दुई दिन लाग्ने भएपछि उनी कारोबारका लागि तीन घण्टा हिँडेर डाब आइपुगेको बताइन् । उनी मात्र होइन अछामको तुर्माखाद क्षेत्रका बासिन्दालाई बैंकिङ कारोबारका लागि दैलेखको डाब आउन पर्ने बाध्यता छ । तुर्माखादका जयबहादुर बीसीले कारोबारका लागि घण्टौं हिँडेर डाब आइपुगेको गुनासो गरे । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाले मुआब्जा वितरण गर्दा अछाम बासिन्दा तीन दिनसम्म हिँडेर खाता खोल्न डाब आइपुगेका थिए । चेक पाएपछि अछाममै चेक साट्न असहज भएपछि फेरि डाबमै पुग्नुपर्ने बाध्यता छ । नेपाल इन्भेस्टमेन्ट बैंक डाब शाखाले दैनिक ५० भन्दा बढी ग्राहकलाई सेवा दिँदै आइरहेको छ । स्थानीयस्तरमै बैंक नहुँदा डाब आउनुपर्ने बाध्यता रहेको अछाम तुर्माखादका सूर्यबहादुर थापाले जनाए ।