कोरियामा फेन्सिङको प्रशिक्षण


काठमाडौं, (नेस)
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारी गर्न नेपाली फेन्सिङ टोली वैदशिक प्रशिक्षणका लागि बिहीबार दक्षिण कोरियाको सिओल प्रस्थान गर्दैछ । समान ४–४ पुरुष÷महिला खेलाडी र २ प्रशिक्षकसहित १० सदस्यीय टोली सिओल जान लागेको हो ।

पुरुष खेलाडीमा राजनराज खड्का, शेरसिंह ऐरी, सन्जिप लामा र महेशप्रसाद भट्ट रहेका छन् । महिलामा कमला श्रेष्ठ, रविना थापा, मीनादेवी पौडेल र अस्मिता बस्नेत छन् । प्रशिक्षकमा अभिषेक कार्की तथा जलिन्द्रबहादुर शाही रहेका छन् ।

टोली जुलाई २६ देखि अगष्ट १५ तारिखसम्म सिओल फिजिकल एजुकेसन हाइ स्कुलमा प्रशिक्षणरत रहनेछ । अगष्ट १५ मै टोली सिओलबाटै इन्डोसिया जानेछ ।

नेपालले पुरुष÷महिलाको फोइल र साब्रेतर्फ व्यक्तिगत र टिम स्पर्धामा प्रतिस्पर्धा गर्ने नेपाल फेन्सिङ संघका महासचिव सुजनलाल श्रेष्ठले जनाएका छन् । एसियाडअन्तर्गत फेन्सिङको प्रतिस्पर्धा अगष्ट १९ देखि २४ तारिखसम्म चल्नेछ ।