सिन्डिकेटधारीसँग सरकार किन हच्कियो ?


यातायात व्यवसायका नाममा केही व्यक्तिहरूले कायम गरेको एकाधिकार (सिन्डिकेट) तोड्न सरकारले थालनी गरेको प्रयासलाई सबैले हाई–हाई गरेका थिए । सबैले यसको स्वागत गरेका थिए । सर्वसाधारण जनताले अभूतपूर्व सहयोग पनि गरेका थिए । सिन्डिकेट कायम गर्ने पक्षमा र नगर्ने पक्षमा यातायात व्यवसायीहरू विभाजित भए । तर धेरैजसो यातायात व्यवसायीहरू भने सिन्डिकेटकै पक्षमा थिए ।

सिन्डिकेटको पक्षमा रहेका व्यवसायीले सरकारको निर्णयलाई चुनौती दिँदै आए । सरकार टसको मस भएन । तर पछिल्लो चरणमा ढुलमूले कुरा गरेर सरकार हच्किएको जस्तो देखिएको छ । नीतिगत समस्या भन्दै दुई तिहाइ बहुमतको सरकार हच्किनु निराशाको कुरा हो । यो बहानाबाजी हो ।

सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेटविरुद्ध कडा कदम चालेपछि त्यो कडा कदमलाई सफल बनाउन सर्वसाधरण पनि सडकमा उत्रिए । त्यसैले सिन्डिकेट पक्षधर व्यवसायीहरूले घुँडा टेकेका हुन् । सरकारले अहिले आएर जनमतको कदर गर्न सकेन भने अर्को चुनाव कुरेर बसेका जनताले फेरि सडकमा नल्याऊलान् भन्न सकिन्न ।
– सन्दीप राई, पुल्चोक, ललितपुर ।