कहिले बन्ने हो वैकल्पिक विमानस्थल ?


राजधानी काठमाडौं उपत्यकासँगै जोडिएको काभ्रे जिल्लामा आन्तरिक विमानस्थल निर्माण गर्ने अभियान कहाँ पुग्यो ? पछिल्लो अपडेट पाइएको छैन । विगत १० वर्षदेखि नै यो चर्चा चले पनि काम अघि बढ्न नसकेको विमानस्थलको काम अगाडि बढाउने भनेर निकै चर्चा भयो ।

त्यो पनि फेरि सेलाएको छ । काठमाडौं उपत्यकामा रहेको मुलुकको एकमात्रै विमानस्थलले यात्रुको चाप धान्न छोडेको करिब एक दशक भइसकेको छ । आकाश जाम हुने समस्या झन् बढेको छ । वार्षिक ६० लाख यात्रु व्यवस्थापन गर्ने क्षमता त्रिभुवन अन्तर्राष्ट्रि«य विमानस्थलको छ । अहिले वार्षिक ८० लाख यात्रुको व्यवस्थापन गर्दै आएको देखिन्छ । यात्रुको चाप हरेक १५ वर्षमा दोब्बर हुने गरेको तथ्यांक पनि देखिन्छ ।

विदेशी पर्यटकको वृद्धिदर चालू आर्थिक वर्षकै रफ्तारमा हुने हो भने यात्रुको चाप अबको १० वर्षभन्दा कम समयमै दोब्बर हुने अवस्था छ । बाह्य मात्रै नभएर आन्तरिक उडानको चाप पनि त्यत्तिकै छ । मुलुकका प्रायः सबै मुख्य शहरहरूमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै उडान गर्नुपर्ने बाध्यता छ । जसका कारण त्रिभुवन विमानस्थलमा हवाई ट्राफिकको समस्या देखिएको छ । यो समस्या समाधान गर्ने एकमात्रै विकल्प भनेको काठमाडौं उपत्यका आसपासमा अर्को विमानस्थल बनाउने र त्यहीँबाट आन्तरिक उडान भर्ने हो ।

आन्तरिक उडानका लागि विकल्पको व्यवस्था गर्ने हो भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई ट्राफिकको समस्या धेरै हदसम्म समाधान हुने अवस्था छ । यसका लागि विज्ञहरूले डेढ दशकअघि नै सरकारलाई सुझाव दिएका थिए । काभ्रे जिल्लाको नागिडाँडा, ठूलीचौर र चिसापानी क्षेत्रको अध्ययन गरिएको थियो । तर सरकारले खासै चासो नलिएका कारण काम अघि बढ्न सकिरहेको छैन ।

अब तत्कालै धमाधम काम अघि बढाउने हो भने पनि निर्माण सम्पन्न हुन पाँच वर्ष लाग्ने जनाइएको छ । पाँच वर्ष भनेको लामो समय हो, त्यतिन्जेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले धान्न सक्ने अवस्था छैन । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम पनि भारतले रुट परमिट दिन आनाकानी गरेका कारण अघि बढ्न सकिरहेको छैन ।

त्रिभुवन विमानस्थलको विकल्पमा नजिकै अर्को विमानस्थल नहुँदा कस्तो समस्या आइपर्दो रहेछ भन्ने कुरा तीन वर्षअघि विनाशकारी भूकम्प आउँदा मुलुकले बेहोरिसकेको छ । प्राकृतिक विपत्ति आइपरेको अवस्थामा तत्काल उद्धार तथा राहतका लागि विमानस्थल नै सबैभन्दा उपयुक्त माध्यम हो ।

राजधानी काठमाडौं उपत्यकाको जनसंख्या ४० लाख नाघेकोको अवस्थामा विमानस्थलको विकल्प एउटा होइन दुईवटा हुनुपर्छ । काभ्रेका अलावा नुवाकोटमा पनि विमानस्थल निर्माणको तयारी अहिलेदेखि नै गर्दा उपयुक्त हुन्छ । यो विषयमा ध्यान जाओस् ।

– सुरेश चापागाईं, धुलिखेल, काभ्रे