घरेलु हिंसाका घटनाको उजुरी क्रम बढ्यो



नेपाल समाचारपत्र
लमजुङ ।
जिल्ला प्रहरी कार्यालयमा हािल हिसांका घटनाका उजुरीहरु बढ्न थालेका छन् । जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा ती उजुरी परेका हुन् ।

महिलासेलमा आर्थिक बर्ष ०७४/७५ अवधिमा १२ वटा अदालती प्रक्रियामा पठाएको छ । त्यस्तै, आर्थिक बर्ष २०७३/७४ मा ११ वटा र आर्थिक बर्ष २०७२/७३ को अवधिमा तीनवटा मुद्दा मात्र अदालती प्रक्रियामा गएको जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रको रेकर्डमा देखिन आएको छ ।

आर्थिक बर्ष ०७४/७५ अवधिमा कुल १ सय ४ वटा हिंसाका उजुरी परेका थिए । तीमध्ये घरेलु हिंसाको ७४ र ठाडो उजुरी ३० वटा भएको जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्दंकी प्रमुख नन्दू अधिकारी बताउनु हुन्छ । उहाँका अनुसार ती मध्ये घरेलु हिंसाको ४३ र ठाडो उजुरीको २५ गरी ६८ वटा मिलापत्र गरिएको थियो । यसैगरी, आर्थिक बर्ष २०७३/७४ मा १ सय ९ वटा हिंसाको उजुरी परेका थिए । तीमध्ये घरेलु हिंसाको ८१ र ठाडो उजुरी २८ वटा हुन् ।

८१ मध्ये ४३ वटा हिंसाको मिलापत्र भएको र ११ वटा अदालती प्रक्रियामा गएको अधिकारीको भनाई छ । आर्थिक बर्ष २०७२÷७३ मा महिला हिंसाका १ सय २६ उजुरी प्राप्त भयो । तिनमा ७७ वटा घरेलु हिंसा र ४९ वटा ठाडो उजुरी थिए । ती उजुरी मध्ये एक सय ६ वटा मिलापत्र गराइएको थियो । मिलापत्र गरिएकोमा ६५ वटा घरेलु हिंसा र ४१ वटा ठाडो उजुरीका हुन् अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार सो आवमा जम्मा तीन वटा उजुरी मात्र अदालती प्रक्रियामा पठाएको देखिन्छ ।

महिलाहरू चेतना बृद्धि भएको, हेपिएर, दविएर बस्न हुँदैन भन्ने भावना जागृत हुनुका साथ पहिला पहिला घरभित्रको मामिला बाहिर लैजानु हुँदैन भन्ने सामाजिक मान्यताले महिलाहरू हिंसा सहज गर्न बाध्य भएको प्रहरी कार्यालयका महिला तथा बालबालिका सेवा केन्द्रका प्रमुख नन्दु अधिकारीले बताउनु भयो । उहाँका अनुसार जस्तै पीडा पनि महिला आफैभित्र दवाएर राख्ने गदेथे, जसले गर्दा घरेलु हिंसाका घटनाहरु बाहिर आउन सकेका थिएनन्, महिलाहरुमा चेतनाको विकास भएसँगै हिंसाका घटनाहरु बाहिर आउन थालेका हुन् ।

पछिल्ला वर्षमा महिला दिदी बहिनीहरुमा हिंसा लुकाएर बस्नुहुँदैन भन्ने चेतनाको विकास भएको आफूले पाएको अधिकारीले बताउनु भयो ।

महिला तथा घरेलु हिंसाका घटना शिक्षित अशिक्षित दुवै परिवार हुने गरेको तत्कालीन महिला तथा बालबालिका कार्यालयकी महिला विकास निरीक्षक सितादेवी गैरेले बताउनु भयो । उहाँका अनुसार शिक्षित परिवार भन्दैमा हिंसाका घटना हुँदै नहुने र अशिक्षित परिवार भन्दै बढी हुने होइन ।

समाजमा हुने यस्ता खालका घटना न्युनिकरणका लागि सुरुवात आफैबाट हुनुपर्ने महिला विकास निरीक्षक गैरे बताउनु हुन्छ ।

महिला सेलमा परेका उजुरी मध्ये मादकपदार्थ सेवन गरी गालीगलौज तथा कुटपिट गर्ने, परिवारमा खान–लगाउन नदिने, घरायसी झैझगडा, बहु विवाह लगायतको घटना रहेका छन् ।

पछिल्लो समय घरेलु हिंसाको घटना बढ्दै जानुमा वैदेशिक रोजगारी मुख्य समस्याको रुपमा देखा परेको छ । बैदेशिक रोजगारमा जाने पुरुष तथा महिलाको सङ्ख्या बढेसँगै घरेलु हिंसाको घटना पनि बढ्दै गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक यादव ढकालले बताउनु भयो ।

उहाँका अनुसार, श्रीमान घर नभएकाले महिलाहरु परपुरुषको सम्पर्कमा रहनाले हिंसामा पर्ने तथा पारिवारिक स्थितिमा कटुता आउने कारणले पनि घरेलु हिंसाको घटना बढ्न थालेको पाइएको छ ।

महिला तथा बालबालिका माथि हुने हिंसा न्युनकिरणका लागि चौतर्फी पहल भएपनि लमजुङमा हिंसामा परेर न्यायको माग गर्दै प्रहरी समक्ष पर्ने उजुरीको सङ्ख्या दिनानुदिन बढ्दै गइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्