मोड्रिचलाई रोनाल्डोको ७ नम्बर


लन्डन, (एजेन्सी)
स्पेनिस क्लब रियल मेड्रिडमा क्रोएसियाली मिडफील्डर लुका मोड्रिचलाई रोनाल्डोले लगाउने गरेको ७ नम्बर को जर्सी लगाउन दवाब बढेको छ ।

समर्थकले रियल मेड्रिडको व्यवस्थापनलाई रोनाल्डोले लगाउने जर्सी मोड्रिचलाई दिन दवाब बढाएका हुन् । यसअघि मोड्रिचले १० नम्बरको जर्सी लगाउँदै आएका थिए । मोड्रिच हालै रुसमा सम्पन्न विश्वकपको उत्कृष्ट खेलाडी समेत घोषित भएका थिए ।

रियल मेड्रिडमा क्रिस्टियानो रोनाल्डोले लगाउने ७ नम्बरको जर्सी कसले लगाउने भन्ने विषयमा बहस सुरु भएपछि मोड्रिचलाई पहिलो प्राथमिकतामा राखिएको हो । यता रियलबाट युभेन्टस पुगेका रोनाल्डोले त्यहाँ ७ नम्बर कै जर्सी लगाउने भएका छन् ।

रोनाल्डोको बर्हिगमनपछि उनका धेरै समर्थक युभेन्ट्स क्लबतर्फ मोडिएका छन् । रोनाल्डोको बहिर्गमनपछि रियलको जर्सी विक्रीमा समेत नकारात्मक असर पर्न थालेको बताइन्छ । तर स्पेनका मिडियाले जनाएअनुसार केही दिनयता मोड्रिचको टि–सर्टको माग समेत बढेको छ । मोड्रिच सन् २०१२ देखि मेड्रिडमा आबद्ध भएका हुन् ।