क्रिकेटमा इमाम—जमानकै चर्चा


लन्डन, (एजेन्सी)
यो साता चर्चित रहे पाकिस्तानका ओपनर ब्याटसम्यान फखर जमान र इमाम उल हक । जमानले जिम्बावे टुरमा एकपछि अर्को कीर्तिमान रच्दै सबै क्रिकेटरलाई सावधानी बन्न संकेत गरिरहेका छन् । उनले पहिले दोहोरो सतक बनाएर कीर्तिमान रचे भने उनकै साथी इमाम पनि लगातार उनकै पथतिर अघि बढिरहेका छन् । इमाम कोही नभएर पाकिस्तानका पूर्व कप्तान इन्जामम उल हकका भतिजा हुन् ।

इमामले मात्र ९ वानडे खेल खेलेर चार सतक प्रहार गरेका छन् । चार सतकमध्ये हालै जिम्बावेविरुद्धको ५ खेलको वानडे सिरिजमा उनले तीन सतक प्रहार गरे । अब उनलाई विश्व कीर्तिमानी तोड्ने मौका छ । ५ सय ४४ रन बनाएका उनी वानडेमा छिटो १ हजार रन बनाउने अवसर रहेको हो ।

तर सोही जिम्बावेविरुद्धको वानडे सिरिजको पाँचौ खेलमा जमानले १८ खेलमा १ हजार रन पुरा गरेर विश्व कीर्तिमान राखेका हुन् । आफ्नै साथी जमानको कीर्तिमान तोड्न इमाम ४ सय ५६ रनले पछि छन् । यसअघि वेस्ट इन्डिजका भिभियन रिचर्डस, इंग्ल्यान्डका केभिन पिटरसन र जोनाथन ट्रोट, दक्षिण अफ्रिकाका क्विन्टन डी काक र पाकिस्तानका बाबर आजमले २१ खेलमा १ हजार रन पुरा गरेका थिए ।

त्यस्तै जिम्बावेविरुद्धको चौथो खेलमा पहिलो विकेटका लागि पनि इमाम र जमानले ३ सय ४ रन जोडेर वानडेमा सवार्धिक साझेदारीको कीर्तिमान रचे । यसअघि श्रीलंकाका ओपनर सनथ जयसुर्या र उपुल थारांगाले इंग्ल्यान्डविरुद्ध २ सय ८६ रनको कीर्तिमान राखेका थिए । यसैगरी २८ वर्षीय जमानले २ सय १० रन जोडेर वानडेमा दोहोरो सतक प्रहार गर्ने छैटो खेलाडी बने । साथै उनको राष्ट्रका लागि भने दोहोरो सतक बनाउने उनी पहिलो पाकिस्तानी खेलाडी बनेर अर्को कीर्तिमान बनाए । यसअघि सइद अनवरले भारतविरुद्ध १ सय ९४ रन नै पाकिस्तानी ब्याटसम्यानतर्फबाट उच्चतम व्यक्तिगत रन हो ।

यस्तै जमानले एकै वानडे सिरिजमा सर्वाधिक रन बनाउने कीर्तिमान पनि बनाएका छन् । जिम्बावेविरुद्धको ५ खेलको वानडे सिरिजमा उनले ५ सय १५ रन जोडेर नयाँ कीर्तिमान रचेका हुन् । यसअघि पाकिस्तानको तर्फबाट सलमान बटले सन् २००७ मा बंगलादेसविरुद्धको ५ खेलको वानडे सिरिजमा ४ सय ५१ रन बटुलेको कीर्तिमान थियो ।