थपिएको म्यादभित्र पनि नसकिने भयो दिपायल विमानस्थल

0
Shares

विमल विष्ट, डोटी
डोटीको दिपायल विमानस्थलको कालोपत्रेको काम तोकिएको समयमा सम्पन्न हुन सकेको छैन । सँंगै काम शुरु गरिएको अछामको साँफेबगर विमानस्थलको निर्माण कार्य सम्पन्न भएर परीक्षण उडान भइसक्दा समेत दिपायल विमानस्थलको निर्माण कार्य भने अझै अधुरो रहेको छ ।

२०५८ सालबाट बन्द भएको यो विमानस्थल पुनः सचालनका लागि काम शुरु भएको थियो । तर, दोस्रोपटक थप भएको समयमा पनि कालोपत्रेको कार्य भने नसकिने देखिएको छ । १५ महिनामा निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता भए पनि साउन महिनासम्मका लागि म्याद थप हँुदासमेत दिपायल विमानस्थलको कालोपत्रेको कार्य पँरा हुन नसकेको हो ।

२०७३ साल कार्तिकमा काम शुरु गर्नुपर्ने भए पनि ढिलो गरी फागुनबाट मात्रै काम शुरु गरिएको थियो । अहिलेसम्म विमानस्थल कालोपत्रेको ६० प्रतिशत काम भएको दाबी गरिएको छ तर अहिलेसम्म कालोपत्रे भने शुरु भएको छैन ।

 

विमानस्थल निर्माण कार्यका इन्जिनियर बालकृष्ण रेग्मीले निर्माण व्यवसायीले विभिन्न बहाना देखाउँदै काममा लापरबाही गरिरहेको बताउनुभयो । करिब चार सय ९० मिटर लम्बाई भएको सो विमानस्थलको कालोपत्रे गर्नका लागि झण्डै साढे ५ करोड बजेट विनियोजन गरिएको छ ।

डेढ दशकदेखि ओझेलमा परेको विमानस्थल कालोपत्रे गर्ने योजना आएपछि डोटेली जनता खुशी भएका थिए । तर, निर्धारित समय सकिएर ६ महिनाको समय थप्दा पनि कालोपत्रेको कार्य सकिने छाँटकाँट नदेखिएको दिपायल सिलगढी नगरपालिका–२ का वडा अध्यक्ष राजेन्द्र खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘काम पहिले नै सकिनुपर्ने हो तर निर्माण व्यवसायीले विभिन्न बाहना बनाएर काममा ढिलाई गर्दा काम लम्बिएको हो ।’ लामो समयदेखि गौचरणमा परिणत दिपायल विमानस्थल सञ्चालनमा आए प्रदेश नम्बर ७ का पहाडी जिल्लाको आर्थिक समृद्धिसँंगै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ । सँंगै काम सुरु गरिएको अछामको साँफेबगर विमानस्थलमा परीक्षण उडान हुँदा समेत दिपायल विमानस्थलको स्तरोन्नतिदेखि लिएर कालोपत्रेसम्म नहुँदा स्थानीयबासी आक्रोशित हुन थालेको दिपायलका स्थानिय पुष्कर द्वारियाले बताउनुभयो ।

‘संगै काम शुरु गरेको छिमेकी अछाम जिल्लामा जहाज आई सक्यो हाम्रो विमानस्थलमा काम नै सकिएको छैन, उहाँले भन्नुभयो–‘लापबाही गर्ने निर्माण व्यवसायीलाई कस्ले कारबाही गर्ने ।’ ४९० मिटर लम्बाइको धावनमार्ग रहेको यो विमानस्थललाई स्तरोन्नती गरी एक हजार मिटर लम्बाईको धावनमार्ग बनाउने माग पनि हुँदै आएको छ ।

जग्गा अधिग्रहणका लागि सहमति भए पनि आगामी आर्थिक वर्षको लागि प्रदेश र संघीय सरकारले बजेट विनियोजन नगर्दा उक्त योजना पनि अलपत्र पर्ने देखिएको छ । आफ्नै पहलमा विमानस्थलको काम शुरु भएको दावी गर्दै आएका प्रतिनिधि सभा सदस्य प्रेम आलेमगरले विमानस्थलको स्तरोन्नतीका लागि बजेट आउने दाबी गर्नु भएको स्थानीयबासीहरु बताउँछन् ।