प्रदेशको समृद्धि अपरिहार्यः मुख्यमन्त्री गुरुङ


नवलपरासी ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशको समृद्धिका लागि कोराला–पोखरा–दुम्कीबास–त्रिवेणीसम्मको सडक अपरिहार्य भएको बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल नवलपुरद्वारा आज कावासोतीमा आयोजित पत्रकार भेटघाटमा उहाँले भन्नुभयो, “सो सडक निर्माणका लागि प्रदेश सरकारले संघीय सरकारलाई आग्रह गरेको छ ।”

मुख्यमन्त्री गुरुङले वियन–त्रिवेणी गाउँपालिका वडा नं ६ र ७ का जनतालाई सदरमुकाम नवलपुरसम्म आवतजावत गर्न असुविधा परेको उल्लेख गर्दै चितवन राष्ट्रिय निकुञ्जबाट सडक लैजान पहल गरिने जानकारी दिनुभयो ।

नारायणी नदीको कटानले नवलपुरको दक्षिणी भेकका बासिन्दा उच्च जोखिममा रहेको उल्लेख गर्दै उहाँले नदीको धारलाई पुरानै अवस्थामा फर्काउन प्रदेश सरकारले पहल गर्ने बताउनुभयो ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेशको नयाँ जिल्लाका रुपमा रहेको नवलपुरमा आवश्यक भौतिक संचना तयार गरी प्रादेशिक एवं जिल्ला कार्यालय संचालन गरेर जनतालाई सेवा सुविधा पु¥याइने धारणा पनि व्यक्त गर्नुभयो ।
रासस