समस्याको समाधान सडकबाट खोज्ने परिपाटीले लोकतन्त्रलाई संस्थागत गर्न सक्दैन्ः मन्त्री अधिकारी


काठमाडौँ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले मुलुकलाई आवश्यक पर्ने ऐन, कानून निर्माण कार्य लोकतान्त्रिक विधि र प्रक्रियाका माध्यमबाट जनप्रतिनिधिमूलक संस्था संसद्मा हुने विश्वव्यापी अभ्यास रहेको बताउनुभएको छ ।

कीर्तिपुर नगरपालिकाको चालु आवको बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण समारोहमा उहाँले भन्नुभयो, “अस्वभाविक माग राखेर समस्याको समाधान सडकबाट खोज्ने परिपाटीले लोकतन्त्रलाई संस्थागत गर्न सक्दैन्”

मन्त्री अधिकारीले चिकित्सा शिक्षालाई व्यवस्थित तथा सर्वसुलभ बनाउन सरकार प्रतिबद्ध रहेकाले अनशनरत डा गोविन्द केसीलाई वार्तामा आउन आग्रह गर्नुभयो ।

“अब मुलुक विकास र समृद्धिको पथमा अगाडी बढेको छ, यसलाई चाहेर पनि कसैले रोक्न सक्दैन्,” उहाँले भन्नुभयो, “अब स्थानीय तह र प्रदेशसभाले सामाजिक विकाससँग जोडेर भौतिक पूर्वाधारका कार्य अगाडि बढाउनुपर्छ ।”

मन्त्री अधिकारीले कीर्तिपुरको ऐतिहासिक पक्ष र साँस्कृतिक सम्पदालाई संरक्षण गर्न व्यवस्थित योजना बनाएर पर्यटकीय स्थलका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश नं ३ का भौतिक तथा पूर्वाधारमन्त्री केशव स्थापितले काठमाडौँबाट नजिक रहेको कीर्तिपुरमा कृषि र पर्यटनको राम्रो सम्भावना रहेकाले स्थानीय कृषकलाई लाभान्वित हुने कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो ।

नगर प्रमुख रमेश महर्जनले यस क्षेत्रभित्रका प्राकृतिक स्रोत र साधनको व्यवस्थित र प्रभावकारी रुपमा नियमन गरी नगरवासीको हकहितलाई प्राथमिकतामा राखेर उपयोग गरिने जानकारी दिनुभयो ।

नगरपालिकाले चालु आवका लागि रु एक अर्ब २७ लाख ३० हजारको बजेट सार्वजनिक गरेको छ ।
रासस