कामपामा वेथिति बजेट सार्वजनिक नगर्दा सबै काम ठप्प


ईश्वरराज ढकाल, काठमाडौं ।
काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७५/२०७६ को बजेट सार्वजनिक गरेको दुई साता बितिसक्दा पनि आफ्नो मातहतका निकायलाई बजेट उपलब्ध नगराउदा सबै काम ठप्प भएको छ ।
बजेट सार्वजनिक हुन नसक्दा सबै विभाग, महाशाखा र योजनाका काम ठप्प भएको छ । गएको असार २७ गते महानगरको तेश्रो अधिवेशनको दोश्रो नगरसभामा कामपाले ७ वटा विषयगत क्षेत्रमा १३ अर्व ०२ करोड १२ लाख ३७ हजार रुपियाको बजेट सार्वजनिक गरेको थियो । नगर सभामा सार्वजनिक भएको बैठक महानगरका विभागमा पुग्न नसक्दा योजना कार्यान्वयन गर्न गम्भीर समस्या भएको छ । योजना स्विकृत गर्न फाइल आउछन, कुन शिर्षकमा कति बजेट परेको छ जानकारी नै छैन–एक विभागीय प्रमुखले भने । नगरसभाबाट बजेट सार्वजनिक भएपछि तत्कालै वा भोलीपल्ट सो बजेट कामपाले वेवसाइट मार्फत सार्वजनिक गर्ने प्रावधान छ । बजेट सार्वजनिक भएको दुई साता बितिसक्दा बजेट सार्वजनिक गर्न नसक्नु कामपाको मेयर र प्रमुख प्रशासकीय अधिकृतको कमजोरी हो ।
बजेट पास भए लगत्तै पाउनासाथ विभिन्न निकायले योजना अनुसारको बजेट माग गर्दै कामपामा पेश गरेका थिए । मेयर र प्रमुख प्रसासकीय अधिकृतले ती फाइल अध्ययन गरी टिप्पणी उठाएर विभिन्न विभागमा पठाएका थिए । मेयर र प्रमुख प्रशासकीय अधिकृतले तोक लगाएर पठाउनुभएको फाइलको चाङ लाग्दा समेत बजेटबारे जानकारी पाउन सकिएको छैन–एक विभागीय प्रमुखले भने । कामपाको ११ विभागमा तोक आदेशका दर्जनौ फाइल थन्किएका छन–कामपाका एक अधिकारीले भने । कामपा वित्त विभाग प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समितिका सदस्य सचिव शिव अधिकारीले नेपाल समाचारपत्रसंग भन्नुभयो–बजेट तयार छ , केही दिनमै सार्वजनिक गर्नेछौ ।
उहाले बजेट सार्वजनिक गर्न नसक्दा केही समस्या भएको बताउदै भन्नुभयो–बजेट पास भैसकेको छ , काम गर्न केही समस्या हुदैन । उहाले बजेट कम्पायल गर्न केही समस्या भएकोले केही दिन ढिलो भएको बताउनुभयो । कुन शिर्षकमा कति बजेट छ भन्ने विषयमा किताब हेरेर मात्रै थाहा हुन्छ, न पुस्तिका छापिएको छ नत वेवसाइटमै हालेको छ, कसरी काम गर्ने भन्ने विषय अन्योलमा परेको छ–एक विभागीय प्रमुखले नेपाल समाचारपत्रसंग भने । कामपाले बजेट पास गर्नासाथ शिर्षक छनौट गरेर योजना कार्यान्वयन हुने गरेको छ । बजेट बारेमा कर्मचारीलाई नै थाहा नपाएपछि कसरी काम गर्ने भन्ने विषय अन्योल भएको छ ।
कामपाले आयमा आन्तरिकतर्फ ४ अर्व ९० करोड २१ लाख ५७ हजार, वाह्य श्रोतबाट ५ अर्ब १९ करोड र अन्य श्रोतबाट १ अर्व ४ करोड ११ लाख बजेट सार्वजनिक गरेको थियो । व्ययतर्फ विषयगत क्षेत्र निर्धारण गरेर विनियोजन गरिएको छ । कामपाले पूर्वाधार विकासतर्फ ३ अर्व ६ करोड २५ लाख, कार्यालय सञ्चालन तथा प्रशाशनिक खर्चका लागि ३ अर्व ६ करोड २५ लाख, सहरी विकासतर्फ ७ करोड ८१ लाख, विपद् व्यवस्थापनतर्फ १६ करोड ७८ लाख, वातावरण व्यवस्थापनतर्फ ५४ करोड ४६ लाख रुपैयाँ छुट््याइएको छ ।
त्यस्तैंं सामाजिक विकासतर्फ ९६ करोड ८५ लाख, सूचना तथा सञ्चार प्रविधितर्फ २१ करोड ५८ लाख, स्वास्थ्य सेवातर्फ १३ करोड ५८ लाख , कृषि, पशु तथा सहकारी क्षेत्रका लागि ६ करोड १८ लाख, शिक्षाका लागि १ अर्व १० करोड ४६ लाख रुपैयाँ विनियोजन गरेको थियो । भवन निर्माण र सम्पत्ति खरिद तर्फ २ अर्व ३६ करोड १ लाख, सहरी योजना आयोग तर्फ लागि ९ करोड ४६ लाख विनीयोजन गरेको छ । सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत १५ करोड १० लाख, सम्पदाका अन्तर्गत ५१ करोड ५७ लाख, वित्त तथा राजस्वका तर्फ ४ करोड ७५ लाख रुपैयाँ विनियोजन गरेको छ । सबै निकायलाई रकम विनीयोजन भएको जानकारी छ , तर विनीयोजित रकम मध्य विभाग र महाशाखा अन्तर्गत कुन शिर्षकमा कति बजेट छुट्टयाइएको छ हालसम्म कुनैपनि कर्मचारीलाई जानकारी छैन । कामपामा ११ विभाग र २६ महाशाखा रहेका छन् । ती अन्र्तगत झण्डै ३ दर्जन विभाग छन् ।