कालिनीचद्वारा पदक लिन अस्वीकार


लन्डन, (एजेन्सी)
क्रोएशियाका स्ट्राइकर निकोला कालिनीचले रजत पदक लिन अस्वीकार गरेका छन् ।
गत साता सम्पन्न फिफा विश्वकपमा उपबिजेता बनेको क्रोएशियाका स्ट्राइकर कालिनीचले रजत पदक लिन अस्वीकार गरेका हुन् ।

विश्वकप समूह चरणअन्तर्गत नाइजेरियाविरुद्ध भएको पहिलो खेलमा ढाडको समस्याका कारण वैकल्पिक खेलाडीका रुपमा मैदान जान नमानेपछि प्रशिक्षक ज्लाट्को डालिचले उनलाई सोझै घर फिर्ता पठाएको थियो । त्यसपछि भने उनले विश्वकपका अन्य खेल गुमाएका थिए ।

तर क्रोएशिया टोलीको २३ सदस्यबाट भने उनको नामलाई यथावत नै राखिएको थियो । जसका कारण उनी पनि रजत पदकका हकदार बनेका हुन् । उनले भने,–“धन्यबाद तर मैले विश्वकपमा खेलिन । त्यसैले म यो पदक लिन सक्दिन ।“

प्रतियोगितामा सनसनीपूर्ण प्रदर्शनसँगै फाइनल पुगेको क्रोएशियालाई कलिनीच जस्तो सशक्त स्ट्राइकरको अभाव भने खट्किएको थियो ।