सूचीमा समावेश नहुँदा घर बनाउन सकिएन्ः भूकम्प पीडित


सिन्धुली ।
भूकम्पपछिको सर्वेक्षणमा खटिएका प्राविधिकको इच्छा पूरा नगरिदिँदा लाभग्राही सूचीमा नाम नपारिएको यहाँका भूकम्पपीडितको गुनासो छ ।

गोलञ्जोर गाउँपालिका वडा नं ३ भुवनेश्वरीका ६५ वर्षीय वृद्ध ध्रुवप्रसाद पोखरेलले घरधुरी सर्वेक्षणमा खटिएका प्राविधिकले कुखुराको भाले र रक्सीको माग गरेको गुणासो गर्नुभयो । आफूले भनेको नमानेको भनी प्राविधिकले भूकम्पमा भत्किएको घरका धनी पोखरेललाई लाभग्राही सूचीमा समावेश गरेनन् । आफूले घुस दिएर लाभग्राही बन्न नचाहेको उहाँको भनाइ छ ।

फलस्वरुप वरपरका घर बनिसक्दा पनि भूकम्पले चिराचिरा परेको पोखरेलको घर बनाउने सुरसार छैन । गुुनासो दर्ता गराए पनि अहिलेसम्म त्यसको परिणाम प्राप्त नभएको पोखरेलको भनाइ छ । सरकारले दिने अनुदान सहयोग नपाउँदा उहाँ चिरा परेकै घरमा बस्न बाध्य हुनुहुन्छ ।

प्राविधिकले लाभग्राहीमा नाम दर्ता नगरेपछि पोखरेल परिवार अहिले पनि चिरा परेको घरमा आश्रय लिन बाध्य छ । वर्षामा पानी पर्न थालेपछि घर काम्ने गरेको पोखरेलकी ६० वर्षीय श्रीमती मञ्जुको दुःखेसो छ । घरसँगै मन पनि काम्ने गरेको उहाँले सुनाउनुभयो ।

भुवनेश्वरीकी ६५ वर्षीय वृद्धा मैयाँ रम्तेलको समस्या पनि उस्तै छ । चार छोरासँग छुट्टिएर बस्नुभएकी रम्तेलको पतिको पाँच वर्षअघि नै निधन भयो । तीन वर्षअघिको भूकम्पले घर भत्कियो । स्थानीय तहमार्फत गुनासो भर्दासमेत नाम नआएपछि छोराको घरको पालीमा वर्षा छल्न बाध्य हुनुपरेको उहाँले बताउनुभयो ।

एउटा छोरासँग बसे अरु रिसाउने भएकाले पति हुँदै छुट्टै घर बनाएर बसे पनि लाभग्राही सूचीमा समावेश नहँुदा घर बनाउन नसकेको रम्तेलको भनाइ छ । दमको बिरामी उहाँले छोराका घर बने पनि आफ्नो नबन्दा दुःख लागेको गुनासो गर्नुभयो ।

वडाको पुनःनिर्माणमा सक्रिय प्राविधिक ललितकुमार यादव पहिलेका प्राविधिकले केही वास्तविक पीडितकै नाम छुटाइदिँदा धेरै पाउनुपर्ने भूकम्पपीडितले पनि राहत नपाएको सुनाउनुहुन्छ । पाउनुपर्नेलाई राहत दिलाउन आफूले सक्दो सहयोग गर्ने उहाँको प्रतिबद्धता छ ।

वडामा हालसम्मका २४१ लाभग्राहीमध्ये ९५ प्रतिशतले घर बनाइसकेको उहाँले बताउनुभयो । वडाका १४ पीडितबाहेक सबैले दोस्रो किस्ता पाएका छन् । केही दिनमै सबै लाभग्राही दोस्रो किस्ताका लागि सिफारिश भइसक्ने जनाइएको छ । यो वडामा हालसम्म १३५ जना लाभग्राही तेस्रो किस्ताका लागि प्रमाणीकरण भइसकेका छन् ।
रासस