विश्वकपको रौनक

0
Shares

एक्काइसौं शृङ्खलाको फिफा विश्वकप फुटबलको समापनपछि पनि यसको रौनक जारी छ । बीस वर्षपछिको उपाधि विजेता फ्रान्स विजयोत्सवमा व्यस्त छ । फुटबलको कुम्भमेलाको समाप्तिसँगै आयोजक राष्ट्र रसियाले आर्थिक लाभमात्र लिएको छैन, वर्षौंसम्मका लागि पर्यटन वृद्धिको अवसर हासिल गरेको छ । रसियाले प्रतिष्ठामात्र कमाएन, विश्वकप सफलतापूर्वक सम्पन्न गरी विश्वमाझ उसका कला, संस्कृति, पर्यटन, खेल र व्यापारको प्रवद्र्धन गर्न सफल भएको छ । उसले फुटबलले संसार जोड्न सक्छ भन्ने उदाहरण पनि प्रस्तुत गरेको छ ।

रसियामा विश्वकप आयोजना हुने निर्णयसँगै विविध शंका र आशंकाहरु नउब्जिएका होइनन् । सुरक्षा चिन्ताको सवाल सुरूदेखि नै खडा भएको थियो । तर, शान्तिपूर्णरुपमा विश्वकप सम्पन्न गरेर उसले आफ्नो गरिमा झन् बढाएको छ । राष्ट्रका लागि खेलकुदको महत्व कति रहेछ भन्ने बलियो दृष्टान्त फिफा विश्वकप फुटबलले पेश गरेको छ ।

एकमहिने कुम्भमेलाले विभाजित राजनीतिलाई जोड्ने काम ग¥यो । विश्व राजनीति पूरापूर ओझेलमा प¥यो । फुटबलको शक्ति कतिसम्म रहेछ भने नेपालका दर्शकहरु मध्यरातसम्म टिभीमा झुम्मिए, गाउँटोल, सहरबजार जतासुकै फुटबल क्रेज देखियो । सामाजिक सञ्जालका भित्ताहरु विश्वकपकै सन्दर्भले रंगिए ।

फुटबल राष्ट्रलाई चिनाउने एकमात्र माध्यम हो । फुटबलमा गरेको लगानीको प्रतिफल एकदिन अवश्य प्राप्त हुन्छ नै । फ्रान्सले बीस वर्षपछि विश्वकप ट्रफी उचाल्न सफल भयो । यो उपाधि चुम्नका लागि फ्रान्सेली टोलीले देखाएको उत्कृष्ट प्रदर्शन र फ्रान्सले गरेको लगानीको प्रतिफलले पूरै फ्रान्स विजयोत्सवमा रमाइरहेको छ ।

संसारमा आज फ्रान्सकै चर्चा छ । युरोपेली राष्ट्र भए पनि प्रायःजसो अफ्रिकी मूलका अश्वेत खेलाडी छन, जसमा फाइनलमा गोल गर्ने अफ्रिकी मूलका किलियन एमबाप्पे हुन् । एमबाप्पेका पिता क्यामरून र माता अल्जेरिया मूलका थिए । फुटबलकै माध्यमले जहाँका खेलाडी भए पनि एक राष्ट्रलाई अर्को राष्ट्रसँग जोड्ने काम गरेको छ ।

विश्वकप सम्पन्न भएपश्चात् विश्वभर सर्वा्धिक चर्चामा आएको राष्ट्र हो क्रोयसिया । फाइनलसम्मको अपराजित यात्रा गरेको क्रोयसियाले फ्रान्ससँग पराजित भए पनि सबैको मन जितेर बिदाइ भयो । क्रोयसियाको फुटबल इतिहास त्यति लामो छैन ।

युगोस्लाभियाबाट सन् १९९१ मा स्वतन्त्र भएपछि क्रोएसियाले सन् १९९३ मा आधिकारिक फुटबल खेल्न सुरू गरेको थियो । क्रोयसिया जनसंख्याका हिसाबले नेपालभन्दा निकै सानो राष्ट्र हो । जम्मा ४० लाख जनसंख्या भएको यो राष्ट्र फाइनलसम्म पुगेर उत्कृष्ट प्रदर्शन गर्नु आफैँमा दुर्लभ विषय थियो । किनभने, २५ वर्षअघि विश्व फुटबल वरीयता क्रममा नेपालकै बराबरीमा रहेको राष्ट्रले एकपछि अर्को प्रयास गर्दै पाँच वर्षमा पहिलोपटक विश्वकप खेलेर सेमिफाइनलसम्मको यात्रा तय गरेको थियो भने अहिले विश्वको ध्यान आफूतिर आकर्षित गर्न सफल भएको छ ।

बत्तीस राष्ट्र सहभागी भए पनि विश्वकपले साझा महोत्सवका रुपमा सबै राष्ट्रले धेरथोर लाभ र अवसर लिन सके । राष्ट्र र खेलाडीका लागि फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रो र क्रोयसियाली राष्ट्रपति कोलिन्दा ग्राबर कितारोभिकले दर्शाएको सम्मान सबैका लागि अनुकरणीय बन्न पुग्यो । खेल मनोरञ्जनमात्र होइन, यसले सही संस्कार र अनुशासन पनि सिकाउँछ भन्ने पाठ हाम्रा लागि पनि उत्तिकै महत्वपूर्ण बन्न पुगेको छ ।
– अनुप बराल, चितवन ।