हड्तालको आंशिक प्रभाव


भद्रपुर ।
नेपाल चिकित्सक सङ्घले आज आह्वान गरेको हड्तालको प्रभाव झापामा आंशिक मात्रामा परेको छ ।

अधिकांश सरकारी स्वास्थ्य संस्थामा बन्दको प्रभाव परेको छ भने निजी संस्थामा प्रभाव परेन । संघले अनशनरत प्रा डा गोविन्द केसीले राखेका मागको समर्थन गर्दै आकष्मिकबाहेक सबै स्वास्थ्य संस्थामा सेवा ठप्प पार्न आह्वान गरेको थियो ।

झापाको सबैभन्दा ठूलो स्वास्थ्य प्रतिष्ठानका रुपमा रहेको बिर्तामोडको बिएन्डसी हस्पिटलमा बहिरङ्गलगायत सबै स्वास्थ्य सेवा पूर्ववत् सञ्चालन भएको छ । हस्पिटलमा अरु दिनमा झैँ बिरामीले बहिरङ्ग र आकष्मिक सेवा पाएको जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताउनुभयो ।

मेची अञ्चल अस्पताल भद्रपुरमा भने आकष्मिक सेवाबाहेक बहिरङ्ग सेवा हड्तालका कारण ठप्प भयो । चिकित्सक समयमै अस्पताल आए पनि उनीहरू बहिरङ्गमा गएनन् । बिर्तामोडकै पूर्ण टुङ्ग बिर्तासिटी हस्पिटल निजी क्षेत्रबाट सञ्चालन भए पनि आज त्यहाँ हड्तालको पूर्ण प्रभाव परेको छ । हस्पिटलका व्यवस्थापक विनोद बस्नेतका अनुसार बहिरङ्गमा चिकित्सक नगएपछि बिरामी फर्किएका थिए ।
रासस