महिला विकास कार्यालय नहटाउन माग


अमृत अर्याल, स्याङ्जा ।
महिला, बालबालिका, अपांग र जेष्ठ नागरिकका क्षेत्रमा काम गर्दै आएको महिला तथा बालबालिका कार्यालयलाई जिल्लामै राख्नु पर्ने माग गर्दै स्याङ्जाका महिलाहरुले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् । महिला उद्यमी लक्ष्मी प्रधान सहितकोे समूहले प्रशासन कार्यालयमा पुगेर स्याङ्जाका प्रजिअ कोशहरि निरौला मार्फत प्रधानमन्त्री केपी शर्मा ओलाीलाई ज्ञापनपत्र बुझाएका हुन ।

महिला उद्यमी प्रधानद्धारा हस्ताक्षरित सो ज्ञापनपत्रमा घरभित्र सिमित महिलालाई बिबिध कार्यक्रम संचालन गरेर उनीहरुको आयआर्जन, आवश्यकता पहिचान सहित समाधानमा समेत जागरुक एवं सक्रिय गराउदै आएको कार्यालयलाई स्थानीय तहमा पठाउदा ती कार्यका गतिबिधीमा कमी आउने उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा बिभिन्न कालखण्डमा राजनीतिक, सामाजिक, आर्थिक एवं सास्कृतिक परिवर्तनका लागि महिला बर्गको उल्लेख्य भूमिका रहेको जनाउदै परिवर्तनका आवाज बुलन्द गर्नमा पनि महिला तथा बालबालिका कार्यालयको पनि महत्वपूर्ण भूमिका रहेको जनाइएको छ । मुलुकको आधाभन्दा बढी जनसंख्या रहेको महिला तथा बालबालिका कार्यालय स्थानीय तहका साथसाथै जिल्लामा पनि रहनु पर्ने महिलाहरुको माग हो ।

ज्ञापनपत्र बुझ्दै प्रजिअ निरौलाले महिला दिदीवहिनीहरुबाट प्राप्त ज्ञापनपत्र यथाशिघ्र सम्बन्धित निकायमा प्रेषित गर्ने जनाउदै महिला, बालबालिका, जेष्ठ, अपांग बृहत क्षेत्र ओगटेको कार्यालयले दिदै आएका सेवा सुबिधामा कमी आउन नदिने कुरामा आफु प्रतिवद्ध रहेको बताउनुभयो ।