भारतको लखनऊबाट बालिकाको उद्धार


सीताराम चौधरी, कपिलवस्तु ।
एक महिनादेखि परिवारबाट विछोडिएकी एक बालिकालाई भारतको लखनऊबाट उद्धार गरिएको छ । शान्ति पुनस्र्थापना गृह (पीआरसी) कृष्णनगर र शिवराज नगरपालिकाको संयुक्त टोलीले बालिकालाई लखनऊबाट नेपाल फर्काएको हो ।

बालिका भेटिएको सूचनाको आधारमा टोली त्यहाँ पुगी राजकीय बालगृह मोतीपुरबाट जिम्मामा लिई नेपाल फर्काएको पीआरसी संयोजक भूमिराज भट्टराईले जानकारी दिनुभयो । उद्धार गरिएकी बालिका शिवराज नगरपालिका घर भएकी १२ वर्षीय जरिना (नाम परिवर्तन) रहेकी छन् । उनको उद्धारको लागि पीआरसी संयोजक भूमिराज भट्टराई, शिवराज नगरपालिकाकी उपमेयर शिवकुमारी थारु, नेपाल भारत मैत्री संघ चन्द्रौटाका अध्यक्ष महादेव पोखरेल, बालिकाको बुवा सहितको टोली लखनऊ पुगेको थियो ।

एक महिनाअघि भारतको लखनऊ पु¥याइएकी बालिकालाई कुनै घरमा भाँडा माझ्ने काममा लगाइएको थियो । घरबेटीले कुटपिट, गालीगलौज जस्ता शारीरिक र मानसिक टर्चर दिएपछि सविना नामकी एक महिलाले फकाईफुलाई अन्तै भगाएर लैजाँदै गर्दा प्रहरीलाई देखी बालिकालाई छाडी भागेपछि बालिका अलपत्र परेकी थिइन् । भारतीय प्रहरीले अलपत्र परेकी बालिकालाई उद्धार गरी राजकीय बालगृह लखनऊको जिम्मा लगाएको बुझिएको छ ।

बालगृहले बालिका भेटिएको र अभिभावक खोजतलास गर्न पीआरसीलाई सूचना दिएपछि पीआरसी र शिवराज नगरपालिकाको संयुक्त टोली नै त्यहाँ पुगी बालिकालाई नेपाल ल्याई पु¥याएका हुन् । नेपाल फर्काइएकी बालिकालाई मंगलबार शिवराज नगरपालिका उपमेयर शिवकुमारी थारुमार्फत बुवाको जिम्मा लगाई घर पठाएको बताइएको छ । २०७५ देखि शिवराज नगरपालिका र शान्ति पुनस्र्थापना गृहले संयुक्त रुपमा मानव बेचविखन विरुद्ध काम गर्दै आएका छन् ।