कृषि र पशुपालनलाई महत्व देऊ


मानिसको जीवनमा आवश्यक पर्ने पौष्टिक आहारसँगै आर्थिक अर्थोपार्जनको महत्वपूर्ण स्रोतका रुपमा कृषि र पशुलाई लिने गरिन्छ । कृषिक्षेत्रमा आधुनिकीकरणका लागि ठूलो बहस चलेको हाम्रो मुलुकमा अहिले स्थानीय सरकारले पनि कृषि र पशुपालनलाई महत्वका साथ अगाडि बढाएका छन् । यसै सन्दर्भलाई अब स्थानीय सरकारले स्पष्ट नीति निर्माण गरेर स्थानीयस्तरमै रोजगारी सृजना गर्ने वातावरणको तयारी गर्नुपर्ने देखिएको छ ।

यसअघि कृषिको क्षेत्रमा आउने र खर्च हुने रकमहरुको बारेमा चर्चा–परिचर्चा सकारात्मक वा नकारात्मक दुवै क्षेत्रमा भएको देखिन्छ । सकारात्मक कुराहरुलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने देखिएको छ भने नकारात्मक कुराहरुलाई बिस्तारै घटाउँदै जानुपर्ने अहिलेको आवश्यकता हो ।

विशेष गरेर कृषि र पशुसेवाको बारेमा बेला–बेलामा फरक–फरक बहस र पैरवीहरु हुने गरेका देखिन्छन् । सिजनअनुसारका कामहरु गर्दै गर्दा पशुपक्षीहरुमा देखिने भयावह रोगहरुले मानवजीवनलाई समेत समस्यामा पारेको हुन्छ । कहिलेकाँही हुने पशुपक्षीका समस्याहरुका बारेमा खरिद गरेर ल्याउने निकायहरुले समेत सचेतना अपनाउनुपर्ने देखिएको छ ।

पशुपक्षी पालन गरेका निकायहरुले समेत त्यसको सुरक्षाका बारेमा समयमै ख्याल गर्नुपर्ने देखिन्छ । जबसम्म यस्ता कुराहरुलाई दुबै निकायहरुले गम्भीररुपमा छलफल र बहस गर्दैनन् तबसम्म यस्ता समस्याको दिगो समाधान नहुने देखिन्छ ।
– तुलाराम कार्की, डोटी ।