मनहराको मलिलो फाँट किन मास्ने ?


अविरल वर्षाका कारण भक्तपुरको हनुमन्तेमा बाढी आउँदा बिहीबार ठिमी क्षेत्र पूरै डुबानमा प¥यो । डुबानको दोषी अरु कोही नभई तपाईं हामी आफैँ हौँ, जसले प्रकृतिमाथि अतिक्रमण ग¥यौँ, उसमाथि धावा बोल्यौँ । नदीकिनारका खेतबारीहरू घर निर्माणका लागि थिएनन् र होइनन् पनि । यी उर्वर भूमि उत्पादनका लागि हुन् । घर मात्र भएर हुँदैन होला नि, खानु पनि त पर्ला । मुरीका मुरी अन्न फल्ने खेत र भारीका भारी तरकारी फल्ने बारी सबै हामीले मासिसकेका छौँ । हिउँदमा देखिँदै नदेखिने हनुमन्तेले त यो रूप देखायो भने वाग्मती, विष्णुमती, मनमतीले के गर्लान्, त्यो त हेर्न बाँकी नै छ ।

मध्यपुर ठिमीको वडा नम्बर २ स्थित सानोठिमीमा पर्ने मनमती (मनहरा) खोलाको जग्गामा सरकार आफैंले प्लटिङ गर्दै छ, जहाँ दुई वर्षअघि मात्र लहलह तराकारी फल्थे । यहाँ उत्पादन हुने तरकारीले काठमाडौंवासीको माग थोरै भए पनि धान्थ्यो । तर सरकार नै आफैं लागेर सयौँ रोपनी जग्गा प्लटिङ गरेपछि यो क्रम रोकिएको छ । दिव्यश्वरी जग्गा एकीकरणको नाममा जग्गाको खण्डीकरण गरी बाटो, बिजुलीका पोल लग्ने काम धमाधम गरिँदै छ ।

मेरो भनाइ मान्ने हो भने अझै केही बिग्रिएको छैन । यो क्रम तत्काल रोकौँ र पुनः तरकारी खेती गरौँ । जुन किसिमले मनहरालाई पर्खाल लगाएर साँघुरो बनाइएको छ । यो वर्ष नभए अर्को, अर्को वर्ष नभए अर्को वर्ष, त्यो विपत्ति अवश्य आउनेछ । त्यसैले यहाँ बस्ती बसाउन नदिऔँ ।

खेती गर्न मन नलाग्ने जग्गावाल भए गर्नेले किन्ने वा भाडामा लिएर खेती गर्ने वातावरण बनाऔँ । अहिलेका लागि मात्र नहेरौँ । आफ्नो स्वार्थ मात्र नसोर्चौँ । पछिका लागि पनि हेरौँ । अरुका लागि पनि सोचौँ र प्रकृति–मैत्री काम गरौँ । सम्पूर्ण भक्तपुरवासी, यहाँका जनप्रतिनिधि र सरकारले यो कुरा सोचून् ।
– सुललिता सुरमञ्जरी, सानोठिमी, भक्तपुर