योग र ध्यानबाट नै वास्तविक आनन्द प्राप्त हुने


काठमाडौँ ।
ब्रह्मज्ञान जागरण अभियान काठमाडौँद्वारा सञ्चालित सातदिने ब्रह्मज्ञान साधना शिविर शनिबार यहाँ सम्पन्न भयो ।

सद्गुरुदेव निजानन्दद्वारा प्रवचन तथा साधना गराइएको सो शिविरमा सफल जीवनका लागि मानिसलाई उपयोगी हुनसक्ने योग तथा ध्यान विधि सिकाइएको थियो भने २८ जनाले सो शिविरमा भाग लिएका थिए ।

असार २४ देखि शुरु भई आज सम्पन्न भएको ध्यानको समापनका अवसरमा सद्गुरुदेव निजानन्दले मानिसहरु जे चाहिएको छ त्यो गर्दैनन् तर अरु नै कुरामा अलमलिने हुनाले जीवनमा असफल हुने बताउनुहुँदै योग र ध्यानबाट नै मानिसहरुले वास्तविक आनन्द प्राप्त गर्ने बताउनुभयो ।

अभियानको कार्यालय शान्तिनगरमा भएको साधनामा भाग लिने रामशरण खरेल, पत्रकार तीर्थ भट्टराई, रेशमराज डुम्रे, रुपक खड्का, चन्द्रमणि ढुंगानालगायतले गुरुले मानिसका एकदमै व्यावहारिक समस्यालाई मध्यनजर गरी योग र ध्यानको उपयोगितालाई सटिकरुपमा व्याख्या गरी ध्यान गराउनुभएको बताउनुभयो ।

शिविर व्यवस्थापन गर्न शान्तिनगर बस्दै आउनुभएका सानु घिमिरे, नारायण घिमिरे दम्पतिका साथै इन्दु कर्माचार्यलगायतले सघाउनुभएको थियो ।

योग तथा ध्यानमा दश जोड दूईका विद्यार्थी, शिक्षक, गृहिणी महिला देखि लिएर ५० वर्षभन्दा बढी समयदेखि अध्यापन गराउँदै आउनुभएका इन्जिनियरिङका प्राध्यापक ७८ वर्षीय विश्वनाथ सिन्हाले समेत साधनामा भाग लिनुभएको थियो ।
रासस