जिल्ला प्रशासनमा शिशुस्याहार केन्द्र, मुस्कान सहितको सेवा


दुर्गाप्रसाद शर्मा, पर्वत ।
सरकारी कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाइ लक्षित गरेर नयाँनयाँ कामको शुरुवात गर्ने क्रम बढेको बेला जिल्ला प्रशासन कार्यालय मुस्ताङ्ग सेवाग्राहीको सुबिधाका लागि मुलुकमै नयाँ कामको थालनी गरेको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङ्गले बच्चा लिएर सेवा लिन आउने सेवाग्राहीका लागि शिशुस्याहार केन्द्र सञ्चालन गरेको छ भने स्तनपान कक्षको समेत ब्यबस्था गरेको हो ।

जिल्ला प्रशासन कार्यालयमा नागरिकता,पासपोर्ट लगायतका सेवा लिन आउने महिला सेवाग्राहीको सुविधालाई मध्यनजर गर्दे शिशुस्याहार स्थल बनाइएको प्रमुख जिल्ला अधिकारी शिशिरकुमार पौडेलले बताए । ‘बच्चा लिएर लाईनमा सेवाग्राही उभिन नपरोस र सेवा लिने अवधीभर शिसुको स्याहार गर्न सहज होस भनेर शिशुस्याहार स्थल बनाएका हौ’ उनले भने ‘यसबाट महिला र बालबालिकाहरुलाई प्रत्यक्ष सहयोग पुग्छ’ । शिशुस्याहार केन्द्रमा २ वटा वेदवाँसका कोक्रोको समेत व्यवस्था गरिएको छ ।

सेवाग्राहीले सेवा लिने क्रममा आफ्ना वालवालिकालाई कोक्रोमा राखेर सेवा लिन सक्ने भएका छन् । त्यस्तै,कार्यालय आउने महिलाको शहजताका लागि सेवाप्राप्त गर्ने अवधिभर आफ्नो काखको बच्चाबच्ची भोकाएर आमाको दुध खुवाउन परेमा अलग्गै स्तनपान कक्षको व्यवस्था गरिएको छ । त्यसका साथै कार्यालयले सेवाग्राही महिलाका लागि छुट्टै शौचालय समेत व्यवस्था गरेको प्रशासनले प्रजिअ पौडेलले जानकारी दिए । त्यस्तै,कार्यालय परिसरलाई अपांग मैत्री तुल्याएको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङमा मिठो मुस्कान सहितको प्रशासनिक सेवा समेत शुरु भएको छ । प्रशासनलाई मुस्कान सहितको सेवामैत्री कार्यालय बनाउने लक्ष्यका साथ सेवाप्रवाहलाई सरल र सहज बनाइएको प्रजिअ पौडेलले बताए । सेवाप्रवाह सहज बनाउन प्रमुख जिल्ला अधिकारी लगायत अन्य कर्मचारीले भईतलाबाट नै काम गर्दै आएका छन भने कार्यालयलाई मुस्कान सहितको सेवा प्रवाह गर्न कार्यरत कर्मचारीलाई निर्देशन दिइएको छ । सेवाग्राहीको सुविधाका लागि दक्ष कर्मचारीलाई हेल्फ डेस्कमा व्यवस्थापन गरिएको र त्यसबाट सेवाग्राहीको निवेदन आदीको लेखापढीका कार्यहरु संञ्चालन भैरहेका छन ।