अन्नपूर्ण गापाले दलितसम्बन्धी पाठ्यक्रम लागू गर्ने


कास्की ।
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकाले आफ्नो क्षेत्रका विद्यालयमा दलित र सिमान्तकृतका विषय समेटेर स्थानीय पाठ्यक्रम निर्माण र लागू गर्ने भएको छ ।

गाउँपालिकाका निर्वाचित पदाधिकारी, सहयोगी विद्यालयका शिक्षक, पाठ्यक्रम विकास केन्द्रका विज्ञ, अनुसन्धानकर्ता र सरोकारवालाबीचको कार्यशाला गोष्ठीबाट सो निष्कर्ष निकालिएको हो ।

समता फाउण्डेसन काठमाडौँको सहकार्यमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयको सामाजिक तथा सांस्कृतिक मानवशास्त्र अध्ययन संस्थानको अध्ययनबाट नमूना पाठ तयार गरी कास्कीका तीनवटा विद्यालयमा परीक्षण गरिएको थियो । अक्सफोर्ड विश्वविद्यालयबाट सञ्चालित उक्त परियोजनाको नेतृत्व प्रा डेविड गेल्नरले गर्नुभएको छ ।

अन्नपूर्ण गाउँपालिकाको विशेष अनुरोधमा नयाँ पाठ परीक्षण भई सोको नतिजामाथि छलफल सम्पन्न भएको छ ।

गोष्ठीमा अध्ययनको नतिजा, नीतिपत्र एवं अनुभव साटासाट गरिएको थियो । अक्सफोर्ड विश्वविद्यालयबाट अध्ययनलाई सहनेतृत्व गर्नुभएका डा कृष्ण अधिकारीले यसअघि सम्पन्न जात, वर्ग र संस्कृति अध्ययनको नतिजा प्रस्तुत गर्दै नेपालमा जातीय अन्तरसम्बन्धमा व्यापक परिवर्तन भएको र सार्वजनिक क्षेत्रमा छुवाछूत धेरै घटेको भए तापनि निजी मामलामा परिवर्तन हुन धेरै बाँकी रहेको बताउनुभयो ।

नेपालमा दलितसम्बन्धी नीति दलित सशक्तीकरण, आरक्षण र सेवामा पहुँच बढाउनेतर्फमात्र केन्द्रित रहेको तर भेदभाव र छुवाछूत विषयका सामाजिकरूपले बहुआयामिक र बहुपक्षीय चरित्रमाथि न्यून ध्यान गएका कारण समस्या लम्बिन सक्ने अध्ययनले देखाएको डा अधिकारीको भनाइ छ । उहाँका अनुसार बहुआयामिक समस्याको बहुआयामिक समाधान खोजिनुपर्ने र जातीय भेदभाव र छुवाछूत हटाउन आम शिक्षामा जोड दिनुपर्ने निष्कर्षका साथ विद्यालय तहको पाठ्यक्रममै दलितसम्बन्धी पाठ परीक्षण गरिएको हो ।

पाठ्यक्रम विकास केन्द्रका विज्ञद्वय सुरेशकुमार जोशी र विष्णुप्रसाद अधिकारीले स्थानीय पाठ्यक्रमसम्बन्धी विद्यमान सैद्धान्तिक तथा नीतिगत व्यवस्था, गुणस्तरीय शिक्षाका लागि संघीयतामा स्थानीय तहको बढ्दो भूमिकासम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पाठ्यक्रमसम्बन्धी विकेन्द्रीकरणको नीतिगत व्यवस्था भएको धेरै वर्ष भए पनि हालसम्म अपवादबाहेक स्थानीय पाठ्यक्रमका अवधारणा राम्रोसँग लागू हुन सकेको छैन । संघीयता कार्यान्वयनमा आएसँगै पाठ्यक्रम निर्माणमा स्थानीय तहको भूमिका बढ्ने अपेक्षा गरिएको छ ।

सो अवसरमा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले गोष्ठीको निचोड प्रस्तुत गर्दै नीतिगत प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अन्नपूर्ण क्षेत्रमा दलितको संख्या कूल जनसंख्याको आधा जति रहेकाले पनि दलितसम्बन्धी पठनपाठन गर्नु आफ्नो प्राथमिकता भएको अध्यक्ष कुँवरको भनाइ छ ।

अध्यक्ष कुँवरले दलित तथा पहिचान गरिएका अन्य पाँच विषय ९गुरुङ मातृभाषा, गाउँगत स्थानीय संस्कृति, पर्यटन, वैदेशिक रोजगार र कृषि तथा पशुपालन० मा क्षेत्रगत विशिष्टताका आधारमा पाठ्यक्रम विकास केन्द्र, अक्सफोर्ड विश्वविद्यालय र समता फाउण्डेसनको प्राविधिक सहयोग लिएर स्थानीय पाठ्यक्रम तयार गरी लागू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

समता फाउण्डेसनका अध्यक्ष प्रदीप परियारले अन्नपूर्ण गाउँपालिकाको अग्रसरता प्रशंसनीय भएको भन्दै दलित नेतृत्व विकासमा ठोस कदम चाल्न सुझाव दिनुभएको छ ।
रासस