बाल बिवाह रोक्न दुई गाउँपालिकामा बालिका बिमा


यमलाल भुसाल, बुटवल ।
रूपन्देहीको जिल्लाको दक्षिणी भेगमा बालविवाह प्रथा अझै कायमै छ । यसलाई रोक्न जिल्लाका दुई गाउँपालिकाले बालिका बिमा कार्यक्रम लागू गरेका छन ।
ओमसतिया गाउँपालिकाले पहिलो गाउपालिका सभावाट र गैडहवा गाउँपालिकाले तेस्रो गाउपालिका सभावाट बालिका बिमा कार्यक्रम लागू गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष ०७५÷७६ देखि यो कार्यक्रम लागू गर्ने गरी बजेट विनियोजन गरिएको हो । बिमा कार्यक्रमका लागि गाउँपालिकाले ४० लाख रुपैयाँ बजेट छुट्टयाएको छ ।
प्रत्येक बालिकाको नाममा गाउँपालिकाले २० हजार रुपैयाँका दरले छुट्टयाउने छ । त्यसमा परिवारले ५ हजार रुपैयाँ थपेर बैंकमा जम्मा गरिदिनुपर्ने हुन्छ । “२० वर्षको उमेरपछि विवाह भएपछि ब्याजसहित एकमुस्ट प्रदान गरिनेछ”–कार्यकारी अधिकृत टेकराज भट्टराईले भन्नुभयो । तर २० वर्षअघि विवाह भए उक्त रकम गाउँपालिकामै आउने उहाँले बताउनुभयो ।
जिल्लाको दक्षिणी भेगमा बालविवाह प्रथा अझै कायमै छ । यसलाई रोक्न यो कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको हालै सम्पन्न तेस्रो गाउपालिका सभावाट बालिका बिमा कार्यक्रम लागू गर्ने निर्णय गर्दै बजेट विनियोजन गरेको हो । यसलाई कार्यविधि बनाई लागू गरिने गाउँपालिका अध्यक्ष बचुलाल केवटले बताउनुभयो ।
बालविवाहले बालिकाको शिक्षामा प्रत्यक्ष असर पर्ने गरेको छ । “विवाह भएपछि बालिकाको पढाइ प्रभावित हुने र पढ्न पनि राम्रोसँग नपाउने भएकाले बालविवाह रोकियोस् भनेर यो कार्यक्रम लागू गरेका हौं”–गाउँपालिकाका अध्यक्ष केवटले भन्नुभयो–“यहाँ १६–१७ वर्षमै बालिकाको विवाह हुन्छ ।” बिमा कार्यक्रमले भ्रुणहत्या पनि रोकिने उहाँको विश्वास छ ।
यसै बिच गैडहवाकै अगाडि रहेको ओमसतिया गाउँपालिकाले बालिका बिमा कार्यक्रम लागू गरिसकेको छ । जनप्रतिनिधि आएपछि पहिलो गाउपालिका सभाबाटै उसले बालिका बिमा कार्यक्रम लागू गरेको हो । त्यसका लागि ७५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
ओमसतियामा वडा वडाबाट बालिकाहरूको तथ्यांक संकलन गरी बिमाका लागि निवेदन माग गरिएको छ । असार २५ गतेसम्म बुझाउन भनिएकोमा निकै कम निवेदन परेको ओमसतियाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले बताउनुभयो । “जति हामीले तथ्यांक संकलन गरेका छौं । त्यसअनुसार निवेदन परेका छैनन्”–उहाँले भन्नुभयो । तथ्यांकभन्दा निकै कम निवेदन परेपछि ७५ लाखमध्ये धेरै रकम फ्रिज हुने देखिएको छ । आगामी आर्थिक वर्ष ०७५÷७६ का लागि पनि गाउँपालिकाले ७५ लाख नै विनियोजन गरेको छ ।
बालिका पक्षबाट निवेदन दिएपछि गाउँपालिकाले तोकेको बैंकमा खाता खोल्नुपर्छ । गाउँपालिकाले खातामा रकम राखिदिने गर्छ । कार्यविधिअनुसार प्रत्येक बालिकाका लागि २० हजार गाउँपालिकाले दिने र ५ हजार रुपैयाँ बाबुआमाले राख्नुपर्ने हुन्छ । विपन्न परिवारको हकमा त्यसमा पनि छुट दिइएको छ । ओमसतिया गाउँपालिकामा पनि केही समुदायमा बालविवाह अझै व्याप्त छ । “अभिभावकले पनि विवाह गर्न खोज्छन्, सानै उमेरमा कतिपय आफूखुसी बिहे गर्छन्”–गाउँपालिकाकी उपाध्यक्ष सुन्दरमती हरिजनले भन्नुभयो–“बिमा कार्यक्रम भयो भने त्यो रोकिएला ।”