तत्कालिन युद्धमा ज्यान गुमाएकाहरुको सम्झनामा शान्ति स्मारक निर्माण


धनवीर दाहाल रुकुम ।
रुकुम पश्चिमको त्रिबेणी गाँउपालिकामा द्धन्दपिडितहरुले शान्ति स्मारक निर्माण गरेका छन् । त्रिवेणी गाउँपालिका वडा नं. ८, ९ र १० का द्वन्द्वपीडितहरुले शान्ति स्मारक निर्माण गरेका हुन् । साविक पेउघा गाविसमा पर्ने उक्त क्षेत्रमा द्वन्द्वको समयमा तत्कालीन द्वन्द्वरत पक्षहरुबाट मारिएका ५ जना व्यक्तिहरुको सम्मान र सम्झनामा पेउघाको पेदीखेतमा उक्त स्मारक निर्माण गरिएको हो ।

त्रिवेणी गाउँपालिका, साविक पेउघा गाविस र हरप्लेस नेपाल रुकुमको सहयोगमा उक्त स्मारक निर्माण गरिएको पेउघा गाविस स्तरीय संक्रमणकालीन न्याय तथा शान्ति मञ्चका संयोजक शेरमान खड्काले बताउनुभयो । त्रिवेणी गाउँपालिकाले एकलाख ५० हजार र साविक पेउघा गाविसले १० हजार रकम सहयोग गरेको र हरप्लेसले मार्वलमा मृतकहरुको नामावली लेखाएर सहयोग गरेको उहाँले जानकारी दिनुभयो । स्मारकमा साविक पेउघा गाविसबाट ज्यान गुमाएका व्यक्तिहरु भीमबहादुर रावल, भीमबहादुर खड्का, खिमलाल खड्का, दुर्गाबहादुर बुढा र दुर्गा पुनको नाम उल्लेख गरिएको छ ।

स्मारक बनेपछि मृतकका आफन्तहरुले आफ्नो पीडामा थोरै भएपनि राहत मिलेको र उहाँहरुको सम्झना आईरहने बताएका छन् । मृत्यु भएको तिथि मितिमा यहाँ पुगेर उहाँहरुलाई श्रद्धाञ्जली व्यक्त गरेर आत्म शान्तिका कामना गरिने उनीहरुको भनाई छ । स्मारकको माथिल्लो भागमा शान्तिको प्रतीक परेवाको प्रतिमा राख्न बाँकी रहेको बताईएको छ । उक्त प्रतिमा बनाउने काम भईरहेको र सकिएपछि त्यसलाई राखेर कामलाई पूर्णता दिईने मञ्चका संयोजक खड्काले बताउनुभयो । आगामी दिनमा बजेट व्यवस्था गरेर स्मारक निर्माण गरेको यस ठाउँमा पार्क समेत निर्माण गर्ने योजना रहेको खड्काले जानकारी दिनुभयो ।