मृतक परिवारलाई तीनलाख र पीडित परिवारलाई राहत वितरण सुरु


पुष्कर बुढाथोकी, भक्तपुर ।
जिल्ला दैवी उद्धार समितिले पहिरोमा परेर मृत्यु भएका परिवारलाई जनही एक लाख रुपैयाका दरले राहत रकम दिने निर्णय गरेको छ । बाढी लगत्तै जिल्ला प्रशासन कार्यालयमा बसेको प्रतिनिधीसभा सदस्य, प्रदेश सभा सदस्य, जिल्ला समन्वय समिति, नगरपालिकाका प्रमुख, बिभिन्न कार्यालयहरुका प्रमुख सहितको जिल्ला दैवी प्रकोप उद्धार समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

निर्णय सार्वजनिक गर्दै समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले अबिरल बर्षाको कारण आएको पहिरोले घर थिच्दा भक्तपुरको चाँगुनारायण नगरपालिका ७ मझुवा गाँउमा ज्यान गुमाएका एकै परिवारका तीन जना ७० वर्षीय हिरा लामा, पत्नी ६५ वर्षीया पानमाया र नातिनी २ बर्ष ६ महिनाकी सम्पदाको परिवारलाई जनही एक लाखका दरले रु. ३ लाख र तत्काल अस्थायी बसोबासका लागि रु. १० हजारका दरले रु. ३ लाख १० हजार राहत रकम भोली उपलब्ध गराउँने निर्णय गरेको बताउनुभयो ।

त्यसैगरि जिल्लाको भक्तपुर, मध्यपुरथिमि, चाँगुनारायण, सूर्यविनायक चारैवटा नगरपालिकाले आ–आफनो नगरपालिका क्षेत्रमा बिस्थापित भएकाहरुलाई पुनस्थापनाको व्यबस्था गर्ने र तत्काललाई बस्ने, खाने र लत्ताकपडानको व्यबस्था गर्ने निर्णय भएको छ ।
त्यस्तै स्थानीय तहको शुक्रबारसम्ममा सबै क्षतिको विवरण संकलन गरिसक्नु पर्ने, खानेपानी कार्यालयले खानेपानीको व्यबस्थापन तत्काल गर्नुपर्ने, महामारीजन्य रोग लाग्न नदिन जनस्वास्थ्य कार्यालय तयारी अबस्थामा रहनु पर्ने, बाढी, पहिरो र डुबान पीडितहरुलाई राहत एकद्धार प्रणाली मार्फत वितरण गर्न सम्बन्धित नगरपालिकासंग समन्वय गर्नुपर्ने निर्णय गरेको छ ।

त्यसैगरि प्रत्येक नगरपालिकाले विपद व्यबस्थापन श्रोत केन्द्र स्थापना गर्नुपर्ने, चारवटै नगरपालिकाको समन्वयमा विपद व्यस्थापनका सामानहरु खरिद गर्नुपर्ने र विपदको क्षति अनुगमन गर्न प्राबिधिक टोली खटाउँने निर्णय गरेको छ ।

छलफलमा प्रतिनिधीसभा सदस्य महेश बस्नेतले भक्तपुरको बाढी, पहिरो र डुबान क्षेत्रको संसददेखि प्रधानमन्त्री र गृहमन्त्रीको समेत ध्यानाकर्षण गराएको बताउनुभयो । अन्तरनगर सम्बन्धबाट विपद व्यबस्थापनका आवश्यक सामाग्रीहरु ल्याउनु पर्ने र पूर्व तयारी गर्नुपर्ने सुझाब दिनुभयो । प्रतिनिधीसभाका अर्का सदस्य प्रुम सुवालले बाढी र डुबान क्षेत्रमा प्राबिधिक टोली मार्फत अध्ययन गराई दीर्घकालिन रुपमा समस्याको समाधान खोज्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठ, सुरेन्द्र राज गोसाईले दीर्घकालिन रुपमा समस्याको समाधान खोज्नु पर्नेमा जोड दिनुभयो ।

त्यस्तै चाँगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्र, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, बिभिन्न कार्यालयका प्रमुखहरुले राहत र व्यबस्थापनको कामलाई तिब्रता दिने बताउँनु भएको छ ।

यता नेपाल रेडक्रस सोसाईटी भक्तपुरले बाढी र पहिरोमा परेका ४८ परिवारलाई आजै राहत सामाग्री वितरण गरेको रेडक्रस सोसाईटीका वरिष्ट उपाध्यक्ष किरण थापाले जानकारी दिनुभयो । मानविय आस्था नेपालले पनि मध्यपुरथिमिको डुबान क्षेत्रमा पीडित परिवारलाई बिभिन्न राहत सामाग्रीहरु वितरण गरेको संस्थाका संरक्षक एवं प्रतिनिधीसभा सदस्य महेश बस्नेतले जानकारी दिनुभयो ।

पहिरोले नगरकोटमा १०, बागेश्वरीमा तीन र छालिङ्गमा दुई गरी ५० वटा घर भत्किएको छ भने बाढीले कति टहरा र माटोको घर भत्काए भन्ने तथ्यांक आउन केही दिन लाग्ने प्रहरीको भनाइ छ । बाढीमा कति धनसम्पत्तिको क्षति भयो भन्ने यकिन तथ्यांक केही दिनपछि आउने बताइएको छ । त्यसैगरी, चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्र, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल दुवाकोटका प्रमुखहरु सहितको टोलीले आज बाढी, पहिरो र डुबान क्षेत्रको निरीक्षण गर्नुभएको छ ।

टोलीले चाँगुनारायण नगरपालिकाको कुइँकेल गाउँमा पुगेर मनोहरा नदीले कटान गरी पु¥याएको क्षतिको अनुगमन गर्नुभयो । धार परिवर्तन गरी बस्ती नजिकै आएको मनोहरा नदीको कटानले बस्ती जोखिममा पारेकाले तत्कालै बस्ती सुरक्षित गर्न आवश्यक पहल थाल्न स्थानीयवासीले टोलीसँग माग गरेका छन् ।