पुज्डमोनद्वारा सुपुर्दगीपछि पनि सङघर्ष गर्ने प्रतिवद्धता


स्पेन ।
क्याटलोनियाको स्वतन्त्रता पक्षधर अपदस्थ सरकार प्रमुख काल्र्स पुज्डमोनले आफू र आफ्नो समूहका पृथकतावादी नेताहरूले आफ्नो अभियानले सफलता नपाउँदासम्म सङ्घर्षलाई जारी राख्ने बताउनुभएको छ ।

जर्मनीको अदालतले उहाँलाई सुपुर्दगी गर्ने निर्णयसँगै बिहीबार उहाँले भन्नुभयो, “हाम्रो अभियानले सफलता नपाउँदासम्म सङ्घर्ष जारी रहनेछ ।” पुज्डमोनलाई जर्मनीको अदालतले स्पेनी न्यायाधीशले माग गरेजस्तो राजद्रोहको अभियोग भने लगाएको छैन ।
हामीले अन्त्यसम्म सङ्घर्ष गर्नेछौँ र जित्नेछौँ , पुज्डमोनले सामाजिक सञ्जाल ट्वीटरको आफ्नो पेजमा लेख्नुभएको छ ।

क्याटलोनियामा पुज्डमोनको नेतृत्वमा गत अक्टुबरमा गरेको स्वतन्त्रताको प्रयास स्पेनको केन्द्र सरकारले प्रत्यक्ष शासनमार्फत असफल पारेको थियो । तर केन्द्र सरकारको नेतृत्वमा भएको निर्वाचनमा पुनः स्वतन्त्रता पक्षधर समूहहरूको नै बहुमत आएको थियो ।
रासस