आदर्श माविको भवन पुनःनिर्माण गर्ने सम्झौता


काठमाडौँ ।
भूकम्पबाट क्षतिग्रस्त आदर्श माध्यमिक विद्यालय, भद्रवासको भवन लायन्स क्लब ३२५ ‘ए’ १ ले बनाइदिने भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका–३ मा रहेको यो विद्यालय २००९ सालमा स्थापना भएको हो । तीन वर्ष अघिको भूकम्पले क्षतिग्रस्त भवन बन्न नसक्दा पठनपाठनमा अप्ठ्यारो हुँदै आएको थियो । भवन ३१।१ मिटर लम्बाइ, १०।३ मिटर चौडाइको तीनतले र १२ कोठे हुने विद्यालय व्यवस्थापन समितिका सल्लाहकार केशवप्रसाद पुडासैनीले राससलाई जानकारी दिनुभयो ।

भवन निर्माण, रंगरोगन, फर्निचर, विद्युत् वाइरिङ र पुरुष एवम् महिलाको शौचालयका लागि रु चार करोड ५७ लाख लागत लाग्नेछ । एक वर्षभित्र भवन निर्माण सम्पन्न गरी विद्यालयलाई हस्तान्तरण गर्ने सम्झौतामा आज हस्ताक्षर भएको क्लबका गभर्नर अनन्त भेटवालले बताउनुभयो ।

यही भवनमा स्नातक तहको शहीद आदर्श क्याम्पससमेत सञ्चालन भइरहेकाले पठनपाठनमा समस्या हुने गरेको छ । स्नातक तहमा हाल १०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
रासस