परिवार नियोजनका साधनको उचित प्रयोग हुनुपर्ने


काठमाडौंँ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले परिवार नियोजनका साधनको उचित प्रयोगबाट महिला तथा बालबालिकाको जीवन रक्षा हुने बताउनुभएको छ ।

विश्व जनसंख्या दिवसका अवसरमा आज स्वास्थ्य मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री यादवले परिवार नियोजनका साधनमा प्रजनन उमेरका जनसंख्याको पहुँच तथा साधनको उपलब्धता सुनिश्चित गरी गुणस्तरीयसँगै नयाँ साधनको प्रयोग गर्न सकेमा परिवार नियोजनलाई मानवअधिकारका रुपमा सूनिश्चित गर्न सकिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “प्रजनन स्वास्थ्य अधिकारलाई विश्वव्यापी रुपमा मानवअधिकारका रुपमा लिइएको छ, नेपालको संविधानले महिला हकअन्तर्गत प्रजनन स्वास्थ्यलाई मौलिक हकका रुपमा स्वीकार गरेको छ ।”

स्वास्थ्य सचिव डा पुष्पा चौधरीले परिवार व्यवस्थापन गर्न परिवार नियोजनका साधनलाई सर्वसुलभ बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रजनन उमेर समूहका धेरैलाई अझै पनि परिवार नियोजनका साधनबारे जानकारी गराउन आवश्यक भएको बताउनुभयो ।

सन् १९८९ देखि हरेक वर्ष जुलाई ११ मा विश्व जनसंख्या दिवस मनाउने गरिन्छ । यस वर्ष ‘परिवार नियोजन मानव अधिकार’ नाराका साथ विश्वभर यो दिवस मनाइएको छ । विश्वभर बढ्दै गएको जनसंख्याले जीवनयापन, स्रोतसाधनको अभाव तथा रोगब्याधीसँगै जीवनशैलीलाई समेत असर पार्न थालेपछि व्यवस्थित परिवारको कल्पना गर्न थालिएको हो ।
रासस