भाइरलबाट बचौं

0
Shares

बर्सादको मौसम शुरु भइसकेको छ । समयमा बाढीपहिरोजस्ता विपत्तिसँगै राजधानी काठमाडौँलगायत देशका विभिन्न जिल्लामा टाइफाइड र हैजाका बिरामी बढ्छन् । यो वर्ष पनि बिरामी बढेको समाचार आउन थालेको छ । वर्षाको भेलले पानीको मुहान प्रदूषित हुन गई दूषित पानी र खानाका कारण ज्वरो र टाइफाइडका बिरामी बढेका हुन् ।

यस वर्षको वर्षायामको शुरूआतमै हैजाका बिरामी ह्वात्तै बढ्न थालेका छन् । वर्षात्का बेला सरुवा रोगका बिरामी अझै बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाएर स्वच्छ पानी र खानेकुरामा विशेष ख्याल राख्नुपर्ने चिकित्सकहरुले सुझाव दिइरहेका छन् ।

राजधानीका शिक्षण, वीर र पाटन अस्पतालमा टाइफाइडका बिरामी बढेपछि चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् । दूषित पानीका कारण हेपाटाइटिस ए, सी र ई तथा झाडापखालाका बिरामी बढ्दै गएका छन् भने निरन्तर वर्षाका कारण पानी, कीट र हावाजन्य रोगको जोखिम पनि उत्तिकै बढाएको छ । वर्षायाममा पानीका मुहान दूषित हुने हुँदा पानी उमालेर मात्र पिउन चिकित्सकले सुझाव दिइरहेका छन् । राजधानीमा केही दिनअघि विभिन्न कम्पनीबाट उत्पादित जारको पानी परीक्षणमा ‘कोलिफर्म’ नामक दिसामा पाइने जीवाणु भेटिएको थियो ।

सरुवा रोग विशेषज्ञहरुले सीधै मुहानबाट ल्याइएको पानी मात्र नभई खरिद गरिने जारको पानीसमेत उमालेर प्रयोग गर्न सुझाएका छन् । यसले के पुष्टि गर्छ भने हामीकहाँ जारको पानी पनि ढुक्क भएर पिउने अवस्था छैन । प्रशोधित पानी उत्पादक कम्पनीहरुले जारको पानी शुद्धीकरण नगरी बिक्री वितरण गर्ने गरिएको पाइएकाले जोखिम झनै बढाएको छ । दूषित पानीको सेवन र सरसरफाइको कमीले भाइरस र ब्याक्टेरिया संक्रमणबाट टाइफाइडका बिरामी बढ्ने गरेका छन् । विशेष गरी वर्षादको बेला पानी उमालेर पिउने बानी गर्ने हो भने सरुवा रोगको संक्रमणबाट जोगिन सकिन्छ ।

टाइफाइड, हैजा, आउँ, झाडापखाला र रुखाखोकीजस्ता सरुवा रोग दूषित पानी, हावा र खानाको माध्यमबाट सर्ने गर्छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटो सर्ने रोग भएकाले यसको समयमा उपचार हुन नसके बिरामीको ज्यानसमेत जान सक्छ । ब्याक्टेरियाबाट सर्ने सरुवा रोगबाट बच्न सर्वप्रथम पिउने पानीमै ध्यान दिनुपर्छ । सरसफाइका साथै सफा शौचालयको प्रयोग गर्ने, ताजा खानेकुराको सेवन गर्ने, साबुनपानीले हात धुने, वातावरण सफा राख्नेजस्ता आधारभूत कुराहरुमा ध्यान दिन सके हैजा र झाडापखालाबाट बच्न सकिन्छ ।

वर्षादका बेला पानीको मुहान दूषित हुँदा कतिपयले बाध्यतावश दूषित पानी पिइरहेका हुन्छन् । सामान्य सावधानीबाट हैजा र टाइफाइडजस्ता रोगको जोखिमबाट बच्न सकिने भएकाले यसबारे बेलैमा सतर्क हुनुपर्छ । वर्षायाममा जताततै पानी जम्मा हुने कारण कीटाणुको प्रकोप बढी हुन्छ । जसले डेँगु, मलेरिया, आँखा पाक्ने रोग, टाइफाइड, भाइरल ज्वरो, निमोनिया, हैजा, पखालालगायत रोग निम्त्याउँछ । वर्षायाममा हुने उच्च आर्द्रताले शरीरको रोगसँग लड्ने र पाचन क्षमतासमेत घटाउने भएकाले यस्तो अवस्थामा विभिन्न संक्रमणले आक्रमण गर्छ । यसको एकमात्र उपाय भनेको खानपिन र जीवनशैलीमा विशेष ध्यान दिनु नै हो ।

वर्षामा एकैसाथ विभिन्न रोगको महामारी फैलन सक्ने जोखिम रहन्छ । अहिले उपत्यकादेखि विभिन्न प्रदेशका अस्पतालमा टाइफाइड, हैजा, डेँगु, झाडापखाला, औलो, जन्डिसजस्ता रोग देखा परेका छन् । यस्ता रोगबाट बच्न सफा खाना, शुद्ध पानी, पर्याप्त सरसफाइ, वातारणीय सरसफाइ नै एकमात्र उपाय हो । चितवनलगायतका जिल्लामा डेँगुको त्रास कायमै रहेकाले लामखुट्टेको लार्भा नष्ट गर्ने, कुखुरा तथा पशुपक्षीको खोर सरसफाइ गर्ने, बाढी तथा डुबान क्षेत्रमा सरुवा रोगको प्रकोप बढ्न नदिन उच्च सतर्कता अपनाउने गर्नु जरुरी देखिएको छ ।
– जीवनकुमार उपाध्याय, चितवन, हाल ः काठमाडौं ।