एकताबद्ध भएर अघि बढौँः महामन्त्री कोइराला


काठमाडौँ ।
नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोइरालाले काँग्रेस एकताबद्ध भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।

शहीद लीला यशोदा दाहाल स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ‘प्रजातन्त्र सेनानी उमा शर्माको जीवनी र सिर्जना’ नामक पुस्तकको आज यहाँ लोकापर्ण गर्दै महामन्त्री कोइरालाले काँग्रेस अप्ठारो स्थितिमा रहेकाले सबैलाई एकताबद्ध हुन आग्रह गनुभएको हो ।

पुस्तकबारे उहाँले भन्नुभयो, ‘‘उमा दिदीलाई बिर्सदा कोइराला परिवार पूर्ण हँुदैँन, उहाँ हाम्रो परिवारको सदस्य हुनुहुन्थ्यो ।”

विराटनगरस्थित कोइराला निवास उमा दिदीबिना अधुरो भएको भन्दै उहाँले आमाले जस्तै हेरचाह गर्ने अभिभावक गुमाएको बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले राजनीतिमा नैतिकता आवश्यक भएको उल्लेख गर्दै वर्तमान सरकारमा नैतिकताको कमी भएको टिप्पणी गर्नुभयो । डा कोइरालाले उमा दिदीबाट नैतिकता र प्रतिबद्धता सिक्न सकिने भन्दै उहाँको संर्घषले जीवन हरेस खान नहुने प्रेरणा लिन सकिने बताउनुभयो ।

पुस्तकका लेखक तथा शहीद लीला यशोदा दाहाल स्मृति प्रतिष्ठानका अध्यक्ष बालकृष्ण दाहाल ‘बिकेडी’ले प्रजातन्त्र सेनानी उमा शर्माले प्रजातन्त्र प्राप्तिका लागि गरेको संघर्ष बाहिर नआउँदा धेरैलाई उहाँबारे जानकारी नभएको उल्लेख गर्नुभयो ।

विसं १९९६ मा ललितपुरमा जन्मिनुभएकी उमा शर्माको पुरा नाम उमालक्ष्मीदेवी शर्मा हो । उहाँको क्यान्सरका कारण २०७३ सालमा निधन भएको थियो । उहाँले विराटनगरस्थित कोइराला निवासमा बसेर डा शेखर कोइराला, डा शशांक कोइरालालगायतलाई हुर्काउनुभएको थियो भने प्रजातन्त्र प्राप्तिको आन्दोलनमा तीन वर्ष जेल जीवन बिताउनुभएको थियो ।
रासस