नेपाल र जापानबीच सम्बन्ध अझ प्रगाढ बनाइने


काठमाडौं ।
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपालका लागि जापानका राजदूत मासाचिमी सिगोबीच शिष्टाचार भेटघाट भएको छ ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज उहाँहरुबीच भेटघाट भएको तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिनुभयो । भेटमा उहाँहरुबीच नेपाल र जापानबीच कुटनीतिक सम्बन्धबारे छलफल भएको थियो ।

अध्यक्ष तिमिल्सिनाले नेपाल लामो संक्रमणपछि शान्ति र विकासतर्फ अगाडि बढेकाले विगतमा जस्तै आगामी दिनमा पनि जापानको सहयोग निरन्तर हुनुपर्ने बताउनुभयो ।

उहाँले राजदूत सिगोको कार्यकाल दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन सफल हुने बताउनुभयो ।

उहाँले जापानले नेपालको पूर्वाधार निर्माण, भूकम्पपछिको पुनःनिर्माण, शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा पु¥याएको सहयोगका लागि धन्यवाद व्यक्त गदै नेपालको भौतिक, आर्थिक, मानव संशाधन विकास, सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य, कृषिलगायतका विकासमा जापानको सहयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले बुद्धको जन्मभूमि नेपालमा विशेषगरी जापानका बुद्ध धर्मावलम्बी धार्मिक पर्यटकको रुपमा आउने र नेपाली पनि अध्ययन, रोजगारी तथा व्यापारका लागि जापान जाने गरेकाले जनस्तरको सम्बन्ध मजबूद बनाउन सहयोग पुगेको धारणा राख्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले विगतको संसदमा नेपाल जापान संसदीय मैत्री समूह गठन भएको र अब संघीय संसदको नेपाल जापान संसदीयमैत्री समूह गठन गर्ने जानकारी गराउनुभयो ।

भेटमा राजदूत सिगोले दुई देशको सम्बन्ध र सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
रासस